संक्रमितहरु खुलेआम बजारमा, यस्तो अवस्थामा कसरी होला कोरोना नियन्त्रण ?

स्वास्थ्य

काठमाडौं । नेपालमा केही दिनयता कोरोना संक्रमितको संख्या पहिलाको तुलनामा घटिरहेको देखिन्छ । दिनको ५ हजारसम्म संक्रमित थपिएकोमा अहिले दैनिक २ देखि ३ हजार ५ सय सम्म थपिएका छन् ।

यसो त पीसीआर परीक्षणमा पनि कमी आएको छ । एकताका नेपालमा दिनको १८ देखि २० हजारसम्म पीसीआर परीक्षण हुन्थ्यो तर अहिले पीसीआर परीक्षणको दायरा पनि घटेको छ ।

पीसीआर घटेर संक्रमित घटेको हो कि साँच्चिकै संक्रमणदर घटेको हो भन्ने हामाीले सन्दर्भमा ईपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा.बासुदेव पाण्डेसँग संक्षिप्त कुरा गरेका छौं ।

डा.बासुदेव पाण्डे

नेपालमा केही दिनयता संक्रमितको संख्या घटेको देखिन्छ, के हो अवस्था ?
अहिलेको अवस्थालाई राम्रो मान्न सकिदैन । अवस्था खराब नै छ । किनकी पीसीआर परीक्षण र संक्रमितको तुलना गर्दा संक्रमणदर उस्तै नै छ । अहिले पनि पीसीआर परीक्षण भएकोमध्ये १० प्रतिशत भन्दा बढीलाई कोरोना पुष्टि भइरहेको छ । जबकी संक्रमणदर ३ प्रतिशतभन्दा तल भएको अवस्थालाई सामान्य मान्न सकिन्छ तर अहिलेपनि संक्रमणदर दर १० प्रतिशत भन्दा माथिरहेकाले अहिलेको अवस्थालाई नियन्त्रित मान्न सकिदैन ।

पीसीआर परीक्षणको दायरा घटेको हो ?

पीसीआर शुल्क निःशुल्क हुँदा पीसीआर परीक्षण गराउनेकाे संख्या धेरै थियो । त्यतिबेला एकै व्यक्तिले ४–५ पटकसम्म पनि परीक्षण गर्थे । कन्ट्याक्ट ट्रेसिङमा परेका सबैलाई पीसीआर गर्नुपर्थ्याे तर अहिले पीसीआर परीक्षण गर्नुपर्ने मापदण्ड फेरिएको छ । संक्रमितको क्लोज कन्ट्याक्टमा आएकाहरुले मात्रै पीसीआर परीक्षण गर्न सिफारिस गरिएको छ ।

अर्काे कुरा पीसीआर शःशुल्क भएपछि केही मानिसहरुलाई मर्का पनि परेको छ । क्लोज कन्ट्याक्टमा आएका जसले पैसा तिर्न सक्दैनन् उनीहरुको पीसीआर परीक्षण निःशुल्क नै छ ।

क्लोज कन्ट्याक्ट मापदण्ड फेरिएको हो ?
संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरु जसले १५ मिनेटभन्दा बढी समय संक्रमितसँग भेटेको हुनुपर्दछ । २ मिटर कममा, १५ मिनेटभन्दा बढी मास्क नलगाई दुई जना भेटेको अवस्थालाई क्लोज कन्ट्याक्ट भनिन्छ ।

पहिला–पहिला हामीले कन्ट्याक्ट ट्रेसिङ अर्थात् सक्रमितसँग भेटेका सबैलाई क्वारेन्टिनमा राखेर पीसीआर परीक्षण गर्थ्याैँ । यसो गर्दा एक संक्रमितको सम्पर्कमा आएका १०० जना सम्मको पीसीआर गर्यौँ ।

जनस्वास्थ्यका मापदण्ड अपनाइएको अवस्थामा छोटो समय संक्रमितलाई भेट्दैमा संक्रमण नहुने बैज्ञानिक आधार तय भइसक्यो । त्यसैले समय अनुसार बैज्ञानिक आधारमा नै क्लोज कन्ट्याक्टको मापदण्ड परिमार्जन गरिएकाे छ । पीसीआर कम हुनुमा क्लोज कन्ट्याक्टको मापदण्ड परिमार्जनकाे पनि असर भएको छ ।

अहिले संस्थागतभन्दा होम आइसोलेसनमा रहनेको संख्या धेरै छ, के उनीहरु सुरक्षित छन् त ?
सुरक्षाका मापदण्ड अपनाएर घरमा नै बस्दा सुरक्षित होइन्छ । सामान्य अवस्थाका संक्रमित स्वास्थ्यकर्मीको परामर्शमा औषधि लिएर घरमा नै बस्नु उत्तम हो । तर अहिलेको अवस्था के छ भने, हाेम आइसोलेसनमा रहेका कतिपय संक्रमितहरु खुलेआम बजारमा डुलिरहेका छन् ।

दशै तिहारको किनमेललाई बाहिर निस्किएको, भीडमा गइरहेको भन्ने सूचना हामीलाई आइरहेको छ । लक्षण देखिएको छैन भनेर संक्रमितहरु बाहिर हिडिरहेको भन्ने सुन्नमा आएको छ । घरमा बस्दा सुरक्षित बस्ने तर उनीहरु आफुलाई लक्षण छैन भन्दै बजारमा हिँडिरहेका छन् जसले हजारौंलाई संक्रमित बनाउने जोखिम रहन्छ ।

यसरी ‘संक्रमितहरु खुलेआम बजारमा डुल्ने, किनमेल गर्ने गरिरहँदा कोरोना कसरी नियन्त्रण हुन्छ ?’ संक्रमितहरुले पनि आफ्नाे कर्तव्य आफैं बुझेर आत्मानुसासनमा बस्न जरुरी छ । नत्र संक्रमणले अझै विकराल रुप लिन्छ । यदि होम आइसोलेसनमा रहेकाहरुको कडा निगरानी भएन भने संक्रमण अझै फैलनेछ ।

यसकाे निगरानी कसले गर्ने ? 
स्थानिय निकायहरुले कडाई साथ निगरानी गर्नुपर्दछ । होम आइसोलेनमा रहेका संक्रमितहरु को–कहाँ, कस्तो अवस्थामा छन् त्यसकाे सम्पुर्ण विवरण स्थानिय निकायस‌ंग हुन जरुरी छ ।

अस्पताल खाली, घरमा टनाटन संक्रमित छन् ? यस्तो किन ?
लक्षण नभएकाहरुलाई घरमा नै सुरक्षाका मापदण्ड अपनाएर बस्नु भनेका हौँ । अहिले त खर्च लाग्ने डरले धेरै संक्रमितहरु अस्पताल पुगेका छैनन् । अस्पतालहरुले पनि संक्रमितलाई नलिएको पाइएको छ ।

गम्भिर प्रकृतिका बिरामीलाई बेड छैन भनेर फिर्ता पठाउने गरेको गुनासो छ, यस्तो काम निजी अस्पतालबाट धेरै भइरहेको छ । यस विषयमा अनुगमन गर्न मन्त्रालयले समिति नै बनाइसकेकाे छ, समितिले स्थलगत अध्ययनगरि यस्ता समस्याकाे सम्वाेधन गर्नेछ ।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *