यस्तो छ कोरोनाले जागिर गुमाएका मलेसियाली पाइलटको खाजा पसल

समाचार

क्‍वाला लम्पुर — प्रत्येक बिहान मलेसियाली पाइलट एज्रिन मोहम्मद जावावी सेतो पोसाक लगाउँछन् । अनि काममा जानुअघि कयाप्टेनले लगाउने ह्याट पनि लगाउँछन् । तर उनी पाइलटको पोसाक लगाएर एयरपोर्ट भने जाँदैनन् ।

दुई दशकदेखि उनको दिनचर्या यही भए पनि कोरोना महामारीका कारण भने उनको दिनचर्या र काम फेरिएको छ ।

अचेल भने पाइलट एज्रिनले राजधानी क्वाला लुम्पुरको छेउमा एउटा सानो फास्ट फुड स्टल सञ्चालन गरेका छन् । ४४ वर्षीय एज्रिन कोरोना महामारीका कारण वायु सेवा कम्पनीले उडान बन्द गरेपछि कामविहीन हुने हजारौं कर्मचारीमध्ये एक हुन् ।

पहिलेको कम्पनीले मलाई कामबाट हटाएकाले मैले केही कमाउनै पर्छ,’ यसअघि मालिन्दो एयरमा कार्यरत उनले भने । मालिन्दो एयरले कोरोना महामारीका कारण उडान संख्यामा कटौती गर्दै सयौं कर्मचारी निकालेको छ ।

नियमित रुपमा आम्दानी नहुने भएपछि चार सन्तानका बुवा एज्रिनले सानो खाजा घर खोल्ने निर्णय गरेका हुन् । उनको स्टलमा विशेषगरी मलेसियाली परिकारहरु पाइन्छ । करी नुडल, लाक्सा(पिरो सुपसहितको चाउचाउ) र रोजाक(विभिन्न फलफूल मिसाएर बनाइने परिकार) उनको स्टलमा पाइन्छ ।

पाइलटको पोसाकसहित स्टलमा बसेको एज्रिनको फोटो उनकी श्रीमतीले सामाजिक सञ्जालमा पोस्ट गरेपछि उनी अहिले निकै लोकप्रिय भइरहेका छन् । उनको फोटो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । ‘क्याप्टेन कर्नर’ नाम दिइएको उनको स्टलमा पछिल्लो समय ग्राहकको भीड लाग्ने गरेको छ ।

कोरोना महामारीका कारण विश्वभर लाखौं व्यक्तिले आफ्नो जागिर गुमाएका छन् । केहीले भने पाइलट एज्रिनले झैं वैकल्पिक उपाय खोजिरहेका छन् ।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *