यी नेपालि साइबर सिपाहीहरु विश्वमा अब्बल ठहरिँदै

समाचार

८ मंसिर, काठमाडौं । १७ वर्षीय विकास पौडेलले ८ चैत २०७२ मा नेपाल टेलिकमसहित दुई सयभन्दा बढी सरकारी वेबसाइट ह्याक गरिदिए । उच्चमाध्यमिक तहमा कम्प्युटर साइन्स पढिरहेका उनले पक्राउ परेपछि सरकारी वेबसाइटको सुरक्षा पक्ष निकै कमजोर भएको औंल्याइदिए ।

तर उनी ३० दिन प्रहरी हिरासतमा बसे र ३० हजार रुपैयाँ धरौटी बुझाएर छुटे । यद्यपि सुरक्षा कमजोरी पत्ता लगाएबापत सरकारले विकासलाई पुरस्कृत गर्नुपर्ने मतहरु पनि सामाजिक सञ्जालमा व्यक्त भएको थियो।

तर विकासले केही गोप्य सूचना लिनुका साथै सामाजिक सञ्जालमा सार्वजनिक गरेकाले यो ह्याकिङ ‘नैतिक खालको नभएको’ सरकारी अधिकारीहरु बताउँछन् ।

अहिले भने नेपालमा नैतिक (इथिकल) ह्याकर पनि धेरै छन् । इथिकल ह्याकिङ गर्ने गरी कम्पनी नै खडा हुन थालेका छन् । नेपालका सरकारी कार्यालय र कम्पनीहरुले भने अहिलेसम्म वेबसाइटको ‘बग’ (सुरक्षा कमजोरी) पत्ता लगाउन प्रोत्साहनमूलक कार्यक्रम ल्याएका छैनन् ।

त्यसैले नेपालका इथिकल ह्याकरहरु विश्वस्तरमा चर्चित कम्पनीका वेबसाइट र सामाजिक सञ्जालमा केन्द्रित छन् । अर्थात्, उनीहरुको प्रतिस्पर्धा विश्वका इथिकल ह्याकरसँग छ । साइबर सुरक्षाका कमजोरी पत्ता लगाउने मामिलामा उनीहरुले आफूलाई अब्बल पनि सावित गरेका छन् ।

फेसबुक र इन्स्टाग्राममा प्रभाको ‘करेक्सन’

काठमाडौंकी प्रभा बस्नेत (२४) ले गत असोजमा फेसबुक र इन्स्टाग्रामसँग सम्बन्धित दुईवटा सुरक्षा कमजोरी (बग) पत्ता लगाएवापत फेसबुक कर्पोरेसनबाट तीन हजार अमेरिकी डलर ‘रिवार्ड’ पाइन् ।

प्रभाले इन्स्टाग्राममा हालेको फोटो नचाहँदा नचाहँदै फेसबुकमा पनि सेयर हुने तथा फेसबुक र इन्स्टाग्राम लिंक नगर्दा वा डिसेबल गर्दा पनि फेसबुककै डिटेलबाट इन्स्टाग्राम खुल्ने सुरक्षा कमजोरी पत्ता लगाएकी थिइन् ।

फेसबुकको पासवर्डबाट इन्स्टाग्राम नखुल्ने बनाउँदा पनि फेसबुककै डिटेलबाट इन्स्टाग्राममा पहुँच बनाउन सक्ने भएकाले फेसबुक ह्याक हुँदा इस्टाग्राम पनि ह्याक हुने जोखिम औंल्याएकी थिइन् । प्रभा अहिले फेसबुकको ‘ह्वाइटह्याट थ्याङ्क्स’ पेजमा सूचीकृत छिन् ।

इन्स्टाबाट सौगातलाई ६ हजार डलर

साइबर सुरक्षाका अनुसन्धानकर्ता सौगात पोखरेल (२१) पनि इन्स्टाग्रामबाट पुरस्कृत भए ।

इन्स्टाग्रामबाट डिलिट गरेको फोटो र म्यासेज कम्पनीको सर्भरै रहने समस्या पत्ता लगाए वापत उनलाई इन्स्टाग्रामले ६ हजार अमेरिकी डलर पुरस्कार दियो ।

अमृत साइन्स क्याम्पसका बीएसस्सी (फिजिक्स) का विद्यार्थी उनले इन्स्टाग्रामबाट धेरैअघि डिलिट गरेको फोटो र सन्देश तथ्यांक डाउनलोड गर्ने टुलबाट सहजै लिन सकिने सुरक्षा कमजोरी २०१९ अक्टोबरमा पत्ता लगाएका थिए । जबकी इन्स्टाग्रामले आफ्ना प्रयोगकर्ताले डिलिट गरेको तथ्यांक ९० दिनसम्म मात्र सर्भरमा रहने दाबी गरेको थियो ।

आफ्नो कमजोरी औल्याइदिएपछि इन्स्टाग्रामले सौगातलाई २०२० अक्टोबरमा पुरस्कृत गर्‍यो । त्यसअघि उनले फेसबुकबाट चारपटक बग पत्ता लगाएबापत रिवार्ड पाएका थिए ।

जुकरबर्गलाई सचिनको ‘सरप्राइज’

सामाजिक सञ्जालको सुरक्षा कमजोरी पत्ता लगाउनेमा सचिन ठकुरी चर्चित नाम हो ।

उनले सन् २०१५ मा फेसबुकका संस्थापक मार्क जुकरवर्गकै फेसबुक पोस्ट परिवर्तन गरिदिएका थिए । जुकरबर्गले ‘फेसबुकमा जागिर सुरु गरेको पोस्ट’बाट बग खोजेका उनले यूएआरएलमा रहेको एक प्यारामिटरमा कमजोरी भेट्टाए । त्यसपछि ‘ जागिर सुरु गरेको’ जानकारी दिने पोस्टलाई ‘जागिर छोडेको’ बनाइदिए । यो पोष्ट विश्वभर भाइरल भयो ।

तर सचिनले औंल्याएको बगलाई फेसुबकले त्यति चासोका साथ हेरेन । पाँच महिनासम्म सुधार पनि गरेन । तर यसबारे सचिनले ब्लग नै लेखेपछि फेसबुकले बग सच्यायो । सचिन फेसबुकको ‘हल अफ फेम’ लिस्टमा परे ।

यो लिस्टमा नैतिक रुपमा बग पत्ता लगाउनेहरु अटाउँछन् । सचिन त्यसपछि एप्पल, माइक्रोसफ्ट, ट्विटर, गुगल लगायतको ‘हल अफ फेम’मा समेत परेका थिए । उनी विभिन्न समयमा सम्मानित भएका छन् ।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *