ओलीको कदममा देउवाको पूर्ण साथ, ओली बिरुद केन्द्रीय सदस्यलाई बोल्न छेकबार !

समाचार

e nepalisamchaar / नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा पुनःस्थापनालाई राजनीतिक मुद्दा बनाउन नहुने पक्षमा देखिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ । उनले केन्द्रीय कार्यसमितिको जारी बैठकमा प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा बोल्ने सदस्यलाई समेत ‘अदालतमा प्रवेश गरेको विषय’ भन्दै नबोल्न भनेको समाचारमा उल्लेख छ ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई असंवैधानिक भन्ने तर पुनःस्थापनाको माग उठाउन नहुने देउवाको भनाइ छ । देउवा पुनःस्थापनाको विरोधमा देखिएपछि शुक्रबारको बैठकमा पनि वरिष्ठ नेता रामचन्द्र पौडेलले आपत्ति जनाएको बताइएको छ ।

राजधानी दैनिकले पनि देउवाले कांग्रेसले प्रतिनिधिसभा पुनस्थापनाको कुनै एजेन्डा नबोक्ने बैठकमा स्पष्ट पारेको खबर छापिएको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताले संसद् पुनस्थापनाको एजेन्डालाई जनतासमक्ष लिएर जानुपर्ने माग गरिरहेको अवस्थामा सभापति देउवाले त्यस्तो एजेन्डा बोक्न नसकिने स्पष्ट पारेका हुन् ।

शुक्रबारको केन्द्रीय समितिको बैठकमा वरिष्ठ नेता पौडेलले संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेपछि आन्दोलनको एजेन्डा संसद् पुनस्थापना हुनुपर्ने आवश्यकता औंल्याएका थिए । पौडेललाई जवाफ दिँदै सभापति देउवाले संसद् पुनस्थापनाको एजेन्डा बन्न नसक्ने बताएका हुन् । ‘संसद् विघटनको विषय अहिले सर्वोच्च अदालतमा विचाराधीन भएकाले त्यसबारे कांग्रेसले केही गर्दैन र यस विषयमा कुरा गर्ने अवस्था छैन,’ बैठकमा सभापति देउवाले भने ।

कांग्रेसले यही १३ पुसमा सरकारको कदमविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरिसकेको छ । प्रदर्शनको तयारी र मेलमिलाप दिवस मनाउन कांग्रेसले १९ पुससम्म केन्द्रीय समितिको बैठक स्थगित गरेको छ ।

बैठक सकिनुअघि केही बोल्नु छ भन्दै पौडेलले केही बेर समय मागे । त्यसपछि सभापतिले उनलाई समय दिएलगत्तै पौडेलले आन्दोलनको एजेन्डाबारे पार्टी प्रस्ट हुनुपर्ने माग गरे । उनले आन्दोलन गर्न कांग्रेस डराउन नहुने बताए ।
‘आन्दोलनमा जाँदा पार्टीको एजेन्डा स्पष्ट हुनुपर्छ । संसद् विघटन अवैधानिक हो भने पुनस्र्थापना हुनुपर्छ भनेर जनतासमक्ष स्पष्ट लक्ष्यका साथ जानैपर्छ ।

यो पनि पढ्नुहोस
आठ जना मन्त्री थपिने, टोपबहादुर रायमाझी पक्का !
यस्तो संवेदनशील विषयलाई झारा टार्ने गरी आन्दोलन तुहाउन खोज्नु गलत हुन्छ,’ पौडेलले भने । त्यस लगत्तै देउवाले संसद् पुनस्र्थापनाका बारेमा सडकमा जान नसकिने भएकाले यो एजेन्डा नबोक्न आग्रह गरे ।

त्यस्तै रमेश लेखकले संसद् पुनस्र्थापनाको विषय अदालतमा विचाराधीन रहेकाले त्यसबारे धेरै छलफल र आन्दोलन गर्न नहुने बताए । पौडेलले संविधान मिचिएको र लोकतन्त्र मासिएको विषयमा बोल्न मिल्दैन भन्नु गलत भएको बताए । यस्तै कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले लोकतन्त्र कसैले मास्न नसक्ने भएकाले यसमा कुनै चिन्ता गर्न नहुने बताए ।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *