अनलाइनबाटै रक्तदाता खोज्न मिल्ने प्लेटफर्म : रगतदान

समाचार

enepalisamachar काठमाडौं । रक्तदानको सञ्जाललाई प्रविधिमार्फत सहजीकरण गर्न झापाका दुई युवाले रगतदान एप तयार गरेका छन् ।रगत आवश्यक परेका बिरामी तथा रक्तदान गर्न इच्छुकहरुलाई एउटै प्लेटफर्ममा ल्याउनका लागि सो एप तयार गरेको एप निर्माण टोलीका सदस्य दिपेश पोखरेल बताउँछन् । अध्ययनका लागि जापान पुगेका झापाका पोखरेलले २०१५ मै रक्तदान प्रणालीलाई सहज बनाउन यस एपका लागि तयारी गर्दै आइरहेका थिए । लकडाउनको समयमा तयार गरी गत कात्तिकमा दिपेश र उनका साथीले सो एप लन्च गरेका हुन् ।

साथी डेभलपर भएका कारण रगतदान एप इनहाउस डेभलप भएको दिपेश बताउँछन् । गुगल प्ले स्टोरबाट हालसम्म पाँच सयको हारहारीमा यो एप डाउनलोड भएको छ ।

एपलाई देशैभर पुर्‍याएर रक्तदानको भरपर्दो र सहज प्लेटफर्म बनाउने योजना दिपेशको छ । यस एप प्रयोगकर्ताले मेम्बर तथा डोनरको रुपमा दुई तरिकाले साइनअप गर्न सक्छन् ।

डोनरले रगत लिन र दिन दुवै गर्न सक्छन् । तर मेम्बरले भने रगत दिन नपर्ने र चाहिएको समयमा रगत लिन र अरुको लागि रगत खोजिदिन सक्छन् ।

एपमा साइनअप गर्दा प्रयोगकर्ताले आफू नजिकको अस्पताल, एम्बुलेन्सको नाम तथा नम्बरहरु इन्ट्री गर्न सक्छन् । त्यसलाई आफूहरुले भेरिफाई गरेर अन्तिम डेटा इन्ट्री भने कम्पनीले नै गर्छ ।

यस एपमा तपाईंले जहाँसुकै भए पनि अथवा बिरामी जहाँसुकै भए पनि आवश्यक स्थानको जिल्ला, पालिका तथा रगत समूह इन्टर गरी रगतदानको डेटाबेसमा भएका नजिकका रगतदाताहरुसँग सम्पर्क गर्न सक्छन् ।

प्रयोगकर्तालाई जीपीएस ट्रयाक नगरी डेटाबेसमा भएको प्रयोगकर्ताहरुको आधारमा रेकमेण्ड गर्ने गरेको उनी बताउँछन् । प्रयोगकर्ताहरुले रक्तदान एप निःशुल्क प्रयोग गर्न सक्छन् ।

आगामी दिनमा रक्तदान एपलाई मोफसलको टेलिमेडिसिन एपको रुपमा विस्तार गरेर लैजाने उद्देश्य रहेको दिपेश बताउँछन् ।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *