राजा महेन्द्रको समयको एक गोप्य अमेरिकी रिपोर्ट भन्छ – दुई देशलाई भिडाउन नेपाली माहिर छन् !

समाचार

इ नेपालि समाचार यो पत्र वासिङ्टन पोस्टका पत्रकार वारेन डब्लू अनाले १२ फेब्रुअरी १९५९ मा काठमाडौँको बहादुर भवनस्थित होटल रोयलबाट इन्स्टिच्युट अफ करेन्ट वर्ल्ड अफेयर्सका वाल्टर एस रोजर्सलाई लेखेका थिए। जुन १० मार्च १९५९ मा न्युयोर्कमा प्राप्त भएको थियो।

अमेरिका र सोभियत संघ शीतयुद्धमा रहेको त्यसबेला असंलग्न आन्दोलन चलिरहेको थियो। वासिङ्टनमा मुख्यालय रहेको इन्स्टिच्युट अफ करेन्ट वर्ल्ड अफेयर्स विश्वभर अमेरिकी चासो र प्रभावबारे अध्ययन गर्ने संस्था हो, जसले सन् १९५८–५९ मा भूराजनीति र असंलग्न आन्दोलनबारे अध्ययन गर्न अन्तर्राष्ट्रिय मामिलाका पत्रकार वारेन डब्लू अनालाई नेपालसहित २५ वटा देशको भ्रमणमा पठायो। इन्स्टिच्युट अफ करेन्ट वर्ल्ड अफेयर्सलाई पठाएको करिब ४ हजार शब्दको ‘हिमालयन कन्स्टिच्युसन डे’ शीर्षकको यो गोप्य रिपोर्टमा वारेनले २०१५ साल आसपासको नेपालको भूराजनीति, पहिलो संविधान जारीसँगै राजा महेन्द्रले गरिरहेको पहिलो आम निर्वाचनको तयारीबारे बर्णन गरेका छन्।

राजा महेन्द्रले २०१५ सालमा नेपालको पहिलो संविधान जारी गर्दा प्रत्यक्षदर्शी बनेका केही भाग्यमानी विदेशी पत्रकारमध्ये एक थिए वारेन। महेन्द्रले ‘कू’ गर्नु करिब २० महिनाअघि वारेन डब्लू अनाले अमेरिका पठाएको नेपाल रिपोर्ट :

प्रिय रोजर्स,

गोर्खाली राजाहरुको प्राचीन हनुमानढोका दरबारको प्रांगणमा आज बिहान राजा महेन्द्र (अरु ५३ वटा नामको छोटकरी रुप) ले नेपालको पहिलो संविधान घोषणा गरेको दृश्य मैले हेरेँ। एक सातापछि १८ फेब्रुअरीमा नेपालले पहिलो आम चुनाव आयोजना गर्दैछ। अग्ला पहाड नाघेर पैदल हिमाली अधिराज्यका कुनाकाप्चासम्म पुग्नुपर्ने हुनाले मतदान अप्रिल ३ मा मात्रै समाप्त हुनेछ। निश्चय नै आज नेपालका लागि शुभदिन हो। आज वसन्त चाडको पहिलो दिन पनि हो। आज संविधान दिवस हो र घोषणा समारोहका क्रममा राजपुरोहितले राजा महेन्द्रलाई आशीर्वाद दिइरहेकै क्षणमा पानी पनि पर्‍यो। आजकै दिन रुसबाट नेपाललाई सहयोग गर्न एउटा ठूलो प्रतिनिधिमण्डल आइपुग्दैछ। र, तटस्थ मुलुक नेपालमा सन्तुलन मिलाउनेगरी भन्नुपर्दा आजको दिन अब्राहम लिंकनको जन्मदिन पनि हो। काठमाडौँको नयाँसडकस्थित अमेरिकी पुस्तकालयले ती महान् मुक्तिदाताको भाषणको विशेष प्रदर्शनी गरेको छ।

नेपाल भारतीय उपमहाद्वीपको एकदमै नगण्य हिस्सा हो। यसको क्षेत्रफल ५६ हजार वर्गमाइल (झण्डै आयोवा राज्यजत्रै) छ भने जनसंख्या ८५ लाख (यसमा हिममानवको संख्या गणना गरिएको छैन)। पृथ्वीको सबैभन्दा उच्च स्थानमा रहेका अचल सम्पत्ति (सगरमाथा, अन्नपूर्ण, आदि) यहीँ छन्। दक्षिणको तराई जंगलमा पर्ने औलो क्षेत्र (जसको कमी बाघ र गैँडाले पुरा गर्छन्) ले ऐतिहासिक रुपमै अरुलाई प्रवेश गर्न दिएन। जबकि हिमालले आवतजावत छेकेन। नेपाल भगवान गौतम बुद्धको जन्मस्थल भएपनि अहिले यहाँ अनेक धर्मको मिश्रण पाइन्छ। जसमा बौद्ध, हिन्दु र लिंगपूजा छन्। जताततै लिंगको प्रतीक पाइन्छ। खासगरी हनुमानढोका दरबारबाहिरको मन्दिरका भित्तामा ती चित्र कुँदिएका छन्। गर्विला बुबाहरु आफ्ना साना छोरीहरुलाई हातमा बोकेर ती चित्र हेरिरहेका हुन्छन्। तर, दोष भने कसैगरी अमेरिकीहरुको थाप्लोमा हालिन्छ। ‘तिमी अमेरिकीहरुले यसको फोटो खिच्न नथालुञ्जेल हामीले यी चित्रलाई वास्तै गर्दैनथ्यौँ,’ एक साह्रै निर्दोष नेपाललीले मलाई भने।

केही वर्षअघिसम्म ‘गुप्त अधिराज्य’का रुपमा रहेको नेपाल दुई छिमेकी भारत र तिब्बत अनि बेलायतबाहेक बाहिरी विश्वका लागि बन्द थियो। बेलायतीहरुलाई भने जहाँतहीँ निम्त्याइन्थ्यो। नेपालमा समय नयाँ दिल्लीको भन्दा १० मिनेट छिटो चल्छ। जापानमा सम्राटलाई नियन्त्रण गर्ने सोगुन सेनापतिजस्तै नेपालमा गएको करिब एक सय वर्ष राणाहरुको शासन थियो। जहाँनिया रुपमा प्रधानमन्त्री हुने उनीहरुले प्रजननको उदेश्यले मात्र राजा राखे।

त्यसपछि क्रान्ति भयो। अनौठो कुरा के छ भने त्यो क्रान्तिको नेतृत्व राजाले गरेका थिए। छिमेकको तटस्थ भारतले क्रान्तिमा ठूलो सरसहयोग गरेको थियो। अहिलेका राजा महेन्द्रका पिता राजा त्रिभुवन राणाहरुको थिचोमिचोविरुद्ध नोभेम्बर १९५० मा भागेर काठमाडौँस्थित भारतीय दूतावासमा शरण लिन पुगे। पछि उनी भारत पुगे। राणाहरुले त्रिभुवनकै एक नाबालक छोरालाई राजा बनाए। तर, राणाहरुभन्दा भारतीयहरु बलिया साबित भए र उनीहरुले त्रिभुवनलाई फेब्रुअरी १९५१ मा राजधानी फर्किन सहयोग गरे। त्यसपछि भारत जाने पालो आयो राणाहरुको। निर्वासनमा आफ्नो जीवन सहज बनाउन उनीहरुले सुनचाँदी भारी हाले र भारतर्फ गए। त्रिभुुवनले तुरुन्तै आफ्नो असल नियत देखाए र संविधान सभाको निर्वाचन गराउने बाचा गरे। तर, एकपछि अर्को सरकार बन्दै ढल्दै गरे पनि ती सरकारको शक्ति खुम्च्याउने संविधान सभाको चुनाव भएन। र, आफ्नो वचन पुरा नगरी राजा त्रिभुन १९५५ मा परलोक भए। उनका छोरा महेन्द्रले चुनाव गराउन आवश्यक स्थायित्वको खोजीमा अर्थ न बर्थ अनेकौँ प्रधानमन्त्री फेर्दै गए। अन्ततः ‘गतिरोध’ व्याप्त भएपछि जनवरी १९५८ मा राजाले फेब्रुअरी १८ देखि चुनाव सुरु हुने घोषणा गरे। उनले एउटा संवैधानिक आयोग पनि गठन गरे। नयाँ संविधान आफैँले घोषणा गर्ने बताएर उनले नयाँ संविधान कसले घोषणा गर्ला भन्ने सन्देह पनि दुर गरिदिए।

त्यसअघिसम्म राजनीतिक दलहरुको मुख्य नारा थियो– ‘चुनाव हुनैपर्छ।’ वास्तवमै आफ्नो माग पुरा हुने देखेपछि भने भयातुर भएर नेताहरुले पूर्ण अविश्वास व्यक्त गर्न थाले। हुन पनि अहिलेसम्म जुनसुकै नेता राजासामु गएर आफू अधिराज्यको सबैभन्दा लोकप्रिय व्यक्ति भएकाले प्रधानमन्त्री बन्न उपयुक्त पात्र हुँ भनेर दाबी गर्न सक्थ्यो। नत्र, त्यसलाई अन्याथा पुष्टि गरेर देखाउन ऊ जोसुकैलाई चेतावनी दिन सक्थ्यो। अब त्यस्तो स्थिति रहेन। र, आज बिहान संविधान घोषणा नहुन्जेलसम्म राजनीतिक नेताहरुले आफूहरु प्रतिनिधिसभामा निर्वाचित हुनुपर्ने कुरा थाहा पाएका थिएनन्।

तर, अन्ततः संविधान घोषणा भएको छ। संविधान लागू हुने मिति चाहिँ आफू तयार भएपछि राजाले नै निर्णय गर्नेछन्। र, संविधान घोषणा समारोह भव्य थियो। मात्र चौबीस घण्टे सूचनाका भरमा नेपाली अधिकारीहरुले गतिलो तयारी गरेका थिए। सबैजना औपचारिक पोसाक र गरगहनामा सजिसजाउ भएर आएका थिए। काँसको राज्याभिषेक द्वारदेखि बाहिर कामोद्वीपक टुँडाल कुँदिएको मन्दिरसम्म नै रातो कार्पेट बिछ्याइएको थियो। विदेशी पत्रकारहरुको समूह पनि उपस्थित थियो। द न्युयोर्क टाइम्स र लन्डन सन्डे अब्जर्भरका पत्रकार चुनावको रिपोर्टिङका लागि संयोगवश अघिल्लो दिन मात्र आइपुगेका थिए। फर्च्युन म्यागेजिनकी एक पूर्व अध्येता युवतीले टाइम इंकको प्रतिनिधित्व गरिन्। जसले राजाको कोटको देब्रे गोजीमा पार्कर ६१ कलम रहेको टिपोर्ट गरिन्। र, छुट्टीमा रहेको द वासिङ्टन पोस्टको तपाईंको यो कृपापात्र पनि यहाँ आइपुग्यो। प्रेसलाई अनपेक्षित रुपमा राजाभन्दा अघि रातो कार्पेटमाथिबाट राज्याभिषेक द्वार हुँदै भित्र लगियो। भाग्यवश अलि चाँडै आइपुगेको हुनाले प्रेसले सो समारोहको सुरुवातदेखिकै घटनाक्रम अवलोकन गर्न पायो। बेलायती राजदूत र उनीकी पत्नी तोकिएकै समय ११ः४० बजे आइपुग्दा उनीहरुले आफू ढिला भएको पाए। लाजले रातो अनुहार लाएका उनीहरुलाई अगाडिको सिटमा पुर्‍याइयो।

सुरुमा सुनौलो वस्त्र लगाएका वृद्ध पुरोहितले होम गरे। त्यसपछि तीन जनाको समूहले अनन्तकालसम्म पवित्र मन्त्र जप्यो। त्यसपछि राष्ट्रियगान। अन्ततः घोषणा कार्यक्रम। उसो त रोबर्ट मन्टगोमरी (अमेरिकी अभिनेता, निर्देशक तथा प्रस्तोता)ले सञ्चालन गरेको समारोह थिएन यो। कालो चस्मा लगाएका राजा भावशून्य र मुस्कानविहीन अनुहार लिएर आँगनको कुनामा राखिएको गद्दीमा बसिरहे। उनी शाही भोजमा समेत चस्मा लगाउँछन् भन्ने मैले सुनेँ। घोषणा पढ्न उठ्दाखेरि पनि उनले अर्को कुना फेला पारे। धीमा चालले उनी त्यो कुनासम्म पुगे र सभापट्टि पिठ्युँ फर्काएर पढ्न थाले। राजा आफ्नो क्याडिलाक कारमा चढेर विदा हुनेबित्तिकै संविधानको प्रति लिन शाही मञ्चमा तँछाडमछाड चल्यो। संविधानमा के छ, सबैलाई चासो थियो। नयाँ दिल्लीस्थित अमेरिकी दूतावासका राजनीतिक अधिकारीलाई एक प्रति संविधान लगिदिने बाचा मैले गरेको थिएँ। उत्सुकतावश मैले बेलायती राजदूतको पञ्जा लगाएको हातले समातेका संविधानका प्रति तान्न थालेँ। तर, उनले कठोर नजरले मलाई हेरे। त्यसैले अर्को उपाय लगाउनु उचित लाग्यो। अमेरिकी दूतावासका राजनीतिक अधिकारीले संविधानको गहिरो अध्ययन गरेपछि राजाले संवैधानिक राजाको उपाधि स्वीकारेको देखियो। तथापि, उनले अधिराज्यको खर्चबर्चमा बलियो पकड राखेका थिए।

त्यस्तै, प्रधानमन्त्री छान्ने अधिकार पनि आफैसँग राख्नुका साथै कुनै पनि अदालतमा आफूमाथि सुनुवाइ नहुने विशेषाधिकार पनि सुनिश्चित गरेका थिए। संविधानले एक सय नौ सिटको तल्लो सदनको निर्वाचन हुने व्यवस्था गरेको छ। जसको निर्वाचन हरेक पाँच वर्षमा हुन्छ। त्यस्तै ३६ सिटको माथिल्लो सदनको व्यवस्था छ, जसका आधा सदस्य राजाले र आधा प्रतिनिधिसभाले चयन गर्ने व्यवस्था छ। एउटा राजपरिषद् हुनेछ र आधारभूत राजनीतिक तथा धार्मिक स्वतन्त्रताको सुनिश्चितता पनि संविधानले गरेको छ। नेपालको संविधानको खाका तयार गरेको प्रमुख श्रेय भारत र सिलोनको संविधान बनाउन भूमिका खेलेका लन्डनका आइवर जेनिङ्सलाई दिइएको छ। राजा महेन्द्रले घोषणा गरेका छन्– ‘राष्ट्रिय एकतालाई सुदृढ बनाउन र नेपाली प्रजालाई लामो समयसम्म समृद्ध, सम्मानित र प्रगतिपथमा लम्काउन हामीले बक्सेको संविधान सबैभन्दा सफल बनोस् भन्ने हाम्रो धेरै पहिलेदेखिको निरन्तर इच्छा रहँदै आएको छ।’

म सरकारको केन्द्रीय सचिवालय भवन गएँ। सिंगो सरकार यही भवनभित्र छ। सायद नेपाल मात्र एउटा त्यस्तो देश हो, जहाँ सम्पूर्ण सरकारै एउटा भवनबाट चल्छ। यो दरबार भव्य छ। अन्तिम राणा प्रधानमन्त्रीको घर हो यो। यसमा कसैले एक हजार त कसैले सोह्र सय कोठा भएको अनुमान लगाएका छन्। केही मानिसहरुले सुनाएअनुसार पुराना राणाहरुले हरेक श्रीमतीलाई यो दरबारको एउटाएउटा कोठा दिएका थिए रे। यदि यो कुरा साँचो हो भने यो अत्यन्तै ठूलो भोग हो। आखिरमा एउटा मान्छेलाई प्रत्येक रातका हिसाबले पनि नौ महिनाको प्रजनन् चक्रलाई पुग्ने महिला चाहिने हो। त्यसपछि ऊ फेरि सुरुदेखि परिचय नवीकरण गर्न सक्छ। विषयान्तरका लागि क्षमा गर्नुहोला। यो विषयले मलाई सताइरहेको छ। वास्तवमा शाही निर्वाचन आयोगका प्रमुख कर्णेल सुवर्ण शमशेर जंगबहादुर राणाको अन्तर्वार्ता लिन सचिवालय गएको थिएँ। सुवर्णका नातेदार रहेका राणा शासकहरुले एक पटक चुनाव गर्ने विषयमा सोचविचार गरेका हुनाले उनीसँग निर्वाचनसम्बन्धी केही अनुभव थियो। त्यसैले राणा भएपनि सुवर्णलाई राजाले शासन फिर्ता लिएपछि आफूसँगै राखे। र, गएको आठ वर्षदेखि सुवर्ण निर्वाचनको तयारीमा जुटेका थिए।

नेपालका ४० लाखभन्दा बढी मतदाता (२१ वर्ष पुगेका सबैलाई मताधिकार छ) मध्ये ४५ देखि ५० प्रतिशत मतदानमा सहभागी हुने अपेक्षा सुवर्णले गरेका छन्। गृहमन्त्री डीआर रेग्मी भने जुनसुकै चुनावप्रति नकारात्मक धारणा राख्छन्। यो चुनावको सुरक्षाको जिम्मा उनकै काँधमा छ। तर, उनी २० प्रतिशत मतदाता मात्र चुनावमा सहभागी हुने बताउँछन्। कर्णेल सुवर्णले फेब्रुअरी १८ देखि अप्रिल ३ सम्ममा मतदानका लागि १८ दिन छुट्याएका छन्। तालिमप्राप्त निर्वाचन टोलीलाई एक मतदान केन्द्रबाट अर्को मतदान केन्द्रसम्म सारिनेछ। कुनाकन्दराको नतिजा सम्प्रेषण गर्न बेलायत र भारतले वायरलेस सेट सहयोग गर्दैछन्। भारतीय निर्वाचन प्रणालीकै नमुनामा नेपालको चुनाव हुँदैछ। किनभने नेपालमा यसअघि कहिल्यै चुनाव भएको थिएन।

एक सय नौ सिटको संसदमा २२ उम्मेदवार उठाउने राजनीतिक समूहलाई राष्ट्रिय पार्टीको मान्यता दिइएको छ। अहिलेसम्म नौ वटा पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाएका छन्। र, तिनको चुनाव चिन्हलाई सुवर्णका सहयोगीहरुले अनुमोदन गरेका छन्। चुनाव चिन्ह चित्रात्मक र सरल छन्। वरको रुख, हात, मकैको घोगाको साथमा हँसिया (स्थानीय कम्युनिस्ट) छाता, हलो, झुप्रो (जमिन्दार समूहको चुनाव चिन्ह, जसलाई राणाहरुले समर्थन गरेका छन्) र घोडाजस्ता चुनाव चिन्ह छन्। यतिबेला एक सय नौ सिटका लागि आठ सय ६५ उम्मेदवार भिडिरहेका छन्। जसमध्ये कयौँ राजपुत र ४८ जना कम्युनिस्ट पार्टीका उम्मेदवार छन्। ३३७ जना स्वतन्त्र र कयौँ महिला उम्मेदवार पनि छन्। एउटा सिटका लागि कम्तीमा १६ जनाबीच प्रतिस्पर्धा हुँदैछ। एक जना उम्मेदवार तीन वटा सिटमा समेत चुनाव लडिरहेका छन्। यो पूर्ण रुपमा वैधानिक भएको सुवर्ण बताउँछन्। सबै उम्मेदवारले धरौटी राख्नुपर्छ। जसले सम्पूर्ण मतको १५ प्रतिशत ल्याउँदैन, उसको धरौटी जफत हुन्छ। हालसम्म कमजोर मुटु भएका करिब एक सय उम्मेदवारले धरौटी झिकेर उम्मेदवारी फिर्ता लिइसकेका छन्। चुनावको दिन मतदाता नामावलीमा नाम भएका मतदाताहरु दर्ता टेबुल अगाडि गएर आफ्नो परिचय दिनेछन्। उनीहरुको नाडीमा नमेटिने मसीको छाप लगाइनेछ। त्यसपछि उनीहरुलाई एउटा मतपत्र दिइनेछ र मतपेटिकासम्म पुर्‍याइनेछ। जहाँ आफूले रोजेको पार्टीको चिन्हमा गोप्य रुपमा मत हालेर उनीहरु मतपत्र बाकसमा खसाउनेछन्। मतदान प्रक्रिया करिबकरिब विश्वसनीय छ। यद्यपि शतप्रतिशत भने होइन। उदाहरणका लागि यही नियमअनुसार चुनाव हुने भारतमा कम्युनिस्टहरुले धाँधली गर्ने तरिका निकालेका थिए। उनीहरुले मतदातालाई पैसा दिएर बुथबाट छाप नलगाई मतपत्र फिर्ता ल्याउन लगाउँथे। धेरैवटा मतपत्र जम्मा भएपछि पार्टीको कार्यकर्ता मत हाल्न जान्थ्यो र त्यही मौकामा सबै मतपत्रमा छाप लगाएर पेटिकामा खसाउँथ्यो।

सहरभरी मतदान गर्ने तरिका, पार्टीका पोस्टर र चुनाव चिन्ह टाँसिएका छन्। राजाको सफल क्रान्ति गर्ने पार्टी नेपाली कांग्रेसले टाँसेको एउटा पोस्टरमा गद्दीमा बसेको राणा देखिन्छ। ऊ दुई भाडाका गुण्डाहरुले एउटा मान्छेलाई पिटेको दृश्य हेरिरहेको छ। एक दिउँसो म भविष्यका मतदाताहरुले चुनावसम्बन्धी नियम अध्ययन गरेको हेरिरहेका थिएँ। कम्युनिस्ट पार्टीको जुलुस हँसिया हथौडा अंकित रातो झण्डा हल्लाउँदै आयो। उनीहरुको चुनाव चिन्ह हँसिया र मकैको घोगा देखेर झुक्किन आवश्यक छैन। विचारधारात्मक रुपले म इच्छुक थिइनँ। शारीरिक रुपले त झनै कम। मैले फोटो खिचिरहेको बेला कयौँ कमरेडहरुले चन्दाका लागि मलाई कुहिनामा कोट्याए।

मैले यो पत्र ताजा घटनाहरुबाट सुरु गरेँ। किनभने अहिलेको घडीमा नेपालमा यिनै विषयको चर्चा चलिरहेको छ। तर, मेरो १३ महिना लामो विश्व भ्रमणको मुख्य विषय असंलग्न नीति र तटस्थतासम्बन्धी तर्क थियो। र, नेपालको तटस्थ अडान निकै रोचक छ। लाल चीनले सगरमाथापारिबाट चियाइरहँदा नेपाल अस्तित्व जोगाउन प्रयासरत छ। त्यससँगै अर्को तटस्थ छिमेकी भारतप्रति पनि नेपाल तटस्थ रहने प्रयास गरिरहेको छ।

भारतमा शासन गरुञ्जेल बेलायतले नेपाललाई पनि एउटा रजौटा ठान्ने गर्थ्यो। भारतले स्वतन्त्रता प्राप्त गरेपछि उसले छिमेकमा बेलायतले निर्वाह गर्दै आएको जिम्मेवारी आफ्नो काँधमा लियो। भारतले रजौटाहरुलाई भारतमा मिसाउँदै त्यहाँका महाराजाहरुलाई पेन्सन दिएर पन्छाउन थाल्यो। निश्चय नै नेपाललाई पनि मिसाउने भारतको चाहना थियो। यस्तो चाहनालाई अझ तीव्र बनाउने अरु कारण पनि थिए। भारतमा निर्वासित जीवन बिताइरहेका राजनीतिकर्मी, विद्यार्थीका साथै बेवास्ता गरिएका दोस्रो र तेस्रो दर्जाका राणाहरु पनि भारतमा जस्तै प्रतिनिधिमूलक शासन व्यवस्थाका लागि लडिरहेका थिए। समाजवादी भारतको सिमानामै समान्तवादी राणा शासन थियो। त्यसमाथि राणा शासन यति अलोकप्रिय थियो कि त्यो कुनै पनि दिन ढल्न सक्थ्यो। जसले गर्दा नेपाल लाल चीनको चपेटामा पर्न सक्थ्यो। र, सबैभन्दा महत्वपूर्ण पक्ष, सन् १९५० मा चीनले तिब्बत कब्जा गरेको थियो। तिब्बतले गर्दा तरुनो भारत आन्तरिक संघर्षबाट ध्यान हटाउन र आफ्नो सीमामा समस्या छ भनेर स्वीकार्न बाध्य भयो। यही स्वार्थवश भारतले नेपाली क्रान्तिकारीहरुलाई आफ्नै सीमाभित्र राखेर उत्प्रेरित गर्‍यो। क्रान्ति घोषणा भएकै क्षणमा नेपालतर्फ हतियार र सैनिक छिराइदियो ९ठिक त्यही समयमा एक अमेरिकी कृषि प्राविधिक उत्तरी भारतमा सर्भे गरिरहेका रहेछन्, जतिबेला भारतले गुप्त रुपमा सैनिक परिचालन गरिरहेको थियो० र राणाहरुलाई लखेट्न तथा राजालाई पुनर्स्थापना गर्न सघायो। यो काम तटस्थ भारतले बहुतै चलाखीपूर्वक गर्‍यो।

राजालाई पहिले यहाँ काठमाडौँस्थित भारतीय दूतावासमा र पछि भारतमै शरण दिइयो। जब राणाहरुले सत्ता छाड्ने निर्णय लिए, उनीहरुलाई पनि भारतले उत्तिकै चतुरतापूर्वक शरण दियो। भारतीय राजदूतलाई नेपालको अनौपचारिक गभर्नर जनरल भनियो। मलाई भनिएअनुसार यो पदमा काठमाडौँ आएका एक जना त आफ्नो शक्तिप्रति यति विश्वस्त थिए कि मन्त्रिपरिषद् बैठकमा जान ढिला हुने भए पनि उनले दरबारमा खबर पठाउन आवश्यक ठानेनन्। आफूलाई शक्तिमा फर्काइदिएको गुणले थिचिएका राजाले त्यो व्यवहारलाई कृतज्ञतापूर्वक स्वीकार गरे। उदाहरणका लागि सन् १९५२ मा भारत–नेपालबीच एउटा व्यापार सम्झौता भयो। जसअनुसार त्यसबेलासम्म निर्वाध रुपमा विदेशी सामान आयात गर्दै आएको नेपाल त्यो सुविधा त्याग्न तयार भयो। त्यसपछि नेपालले आफ्नो भन्सार एजेन्टको जिम्मा भारतलाई सुम्पियो र लाइसेन्स र लेभीका आधारमा आयात नियमन गर्ने अधिकार दियो। त्यसको सट्टामा भारतले नेपाललाई निकै ठूलो खाँचो परेको विदेशी मुद्रा उपलब्ध गरायो। नेपालले आयात गरेको सामान भारततिरै तस्करी हुने ठूलो समस्या रहेको तर्क भारतले अघि सारेको थियो। सम्बन्ध सुधार्न भारतले काठमाडौँ उपत्यकासम्मको सडक निर्माण गर्‍यो। नेपाली स्कुलहरुलाई दान दियो र एउटा अस्पतालका लागि आवश्यक सम्पूर्ण उपकरण उपलब्ध गरायो। जहाँसम्म अस्पतालको कुरा छ, नेपालीहरुले भारतले दिएको ती सरसामान कहिल्यै उपयोग गरेनन्। त्यसैले बर्खे झरीमा ती उपकरणलाई खियाले खाइरहेको छ। अहिले भारत–नेपाल संयुक्त जलाशययुक्त परियोजना पनि अघि बढ्दैछ। तर, त्यहाँबाट उत्पादित धेरैजसो बिजुली र पानीले भारतलाई मात्र फाइदा गर्ने नेपालीहरु बताउँछन्।

भारतको दृष्टिकोणबाट हेर्दा यी सबै कामकारबाहीमा उसको हित लुकेको छ। जसलाई बुझ्न सकिन्छ तर भारतले यसलाई कहिल्यै स्वीकार गरेको छैन। बेलायतले निकै पहिले आफ्नो अमूल्य भारतलाई चीन र रुसबाट बचाउन अनेकौँ ‘बफर जोन’ले घेरेको थियो। ती बफर जोन थिएः अफगानिस्तान, सिक्किम, भुटान र नेपाल। यसमा लुकेको बुद्धिमत्तालाई भारतले बुझेको छ र ऊ अझै यसलाई निरन्तरता दिन चाहन्छ। खासगरी चिनियाँ सैनिकहरु बारम्बार भारतीय क्षेत्रमा प्रवेश गरिरहेको खबर आइरहेको र सांघाईले उत्तरी भारतलाई चिनियाँ भूमि भनेर नक्सा जारी गरिरहेको यो बेलामा। मलाई भनिएअनुसार अहिले नयाँ चिनियाँ नक्सा प्रकाशित भएको छ, जसमा नेपालको एउटा हिस्सालाई चिनियाँ क्षेत्रमा देखाइएको छ र त्यसलाई रुसीहरुले आफ्नो इन्साइक्लोपेडियामा समेत प्रकाशित गरेका छन्। नेपालको भूभाग अत्यन्त कठिन छ। एउटा उपत्यकालाई अर्को उपत्यकासँग जोड्ने सिमित बाटो छन्। त्यसैले नेपालकै अर्को सहर पुग्न भारत हुँदै जानुपर्छ। नेपालको एक मात्र हवाई मार्ग भनेको काठमाडौँ–पटना हो। यो हवाई मार्ग पनि भारतको सरकारी इन्डियन एयरलाइन्सले सञ्चालन गर्दै आएको छ। त्यो पनि दिनमा एउटा उडान मात्रै हुन्छ। यात्रा गर्न चाहनेहरुलाई यसै फर्काइन्छ। नेपालको क्रान्तिपछिको सुरुवाती केही वर्षमा भारतले नेपालप्रति अपनाएको नीति शोषणकारी र तानाशाही देखिन्थ्यो। तर, भारतले त्यो नीतिलाई अहिले पुरै उल्ट्याएको छ। फैलिँदै गएको चीनको सम्मुख नेपालको कलिलो सरकार चाँडै बलियो होस् भन्ने उदेश्य भारतीय नीतिमा देखिन्छ।

यो नेपालको आफ्नै विदेशनीतिसँग पनि मेल खान पुगेको देखिन्छ। तटस्थ भारतप्रति तटस्थ रहनु एउटा कुरा हो। तर, तिब्बतलाई झैँ आफूलाई पनि चीनले निलोस् भन्ने नेपाल चाहँदैन। नेपालले चीनसँग आफ्नो सम्बन्धलाई सम्भव भएसम्म आत्मीय राखेको छ। केहीअघि मात्रै नेपालले ल्हासामा वाणिज्यदूतावास खोलेको छ। त्यहाँ करिब ३० हजार नेपाली बसोबास गर्छन्। तीमध्ये धेरैजसो नुन व्यापार गर्छन्। त्यसबाहेक नेपालको वाणिज्यदूतावास कलकत्ता र रंगुनमा मात्रै छ। नेपाली राजदूतावास पनि भारत (जहाँको दूतले पेकिङ पनि हेर्छन्), लन्डन (जसले मस्को पनि हेर्छ) र अमेरिका (भर्खरै खोलिएको यो दूतावासले संयुक्त राष्ट्रसंघलाई पनि हेर्छ) मा मात्र छन्। चीनले पनि आफ्नो पक्षबाट भारतको खुला विरोध ननिम्त्याइकन नेपालसँग मित्रवत् सम्बन्ध कायम गर्न सकेको छ। उदाहरणका लागि १९५६ मा चीनले नेपाललाई करिब डेढ करोड डलर ऋण उपलब्ध गराएको थियो। जसको एक तिहाइ हिस्सा नगद (भारतीय रुपैयाँ) थियो भने बाँकी सरसामान। जुन यही वर्षभित्र आइसक्नुपर्नेछ।

सोभियत सहयोग परियोजनाले नेपालमा निकै ठूलो चर्चा पायो। सोभियत संघले केही समयअघि सबै सेवासुविधा भएको अस्पताल बनाइदिने बाचा गरेको थियो। भारतीयहरुको असफलताको विपरीत रुसीहरुले चाँडै नै सो अस्पताल बनाइसक्ने अपेक्षा गरिएको छ। गत जुनमा राजाले मस्को भ्रमण गर्दा सोभियत संघले थप सहयोग गर्ने घोषणा गरिएको थियो। आज साँझ रुसी आर्थिक विज्ञहरु आइपुग्नुको कारण पनि सम्भवतः यही हो। गत डिसेम्बरमा रुसीहरु कुनै हल्लाखल्ला नगरी आईएल–१४ विमान उडाएर काठमाडौँ उत्रिए र उनीहरुले करिब पाँच लाख डलरको यो विमान राजालाई व्यक्तिगत प्रयोगका लागि उपहार दिए। विमानको एकापट्टि शाही छापको चित्र कोरिँदै गरेको मैले देखेँ। त्यसपछि म भर्‍याङ चढेर विमानभित्र पसेँ। मैले गर्न नहुने काम गरेको ड्युटीमा रहका नेपाली प्राविधिकले मलाई बताए। तर, म भित्रै पसिसकेको हुनाले उनले मलाई विमानको भान्सा, सोफा र शौचालय देखाउने निर्णय गरे।

रुसीहरुको उदारताको पछिल्लो उदाहरण हो– नेपाललाई दान दिइएको डुंगा। तर, त्यसको घोषणा भने गरिएको छैन। किन हो कुन्नि, काठमाडौँमा रहेको एउटा प्रयोगविहीन तलाउमा केही डुंगा राख्दा राम्रो हुन्छ भन्ने निर्णय मस्कोले गर्‍यो। यथोचित समयमा डुंगा पठाइयो पनि। तीस फुट लामो बाक्सामा राखिएका ती डुंगालाई हिमालको देशमा ल्याइपुर्‍याउन फ्ल्याट कारमा चढाइयो। तर, भारतबाट काठमाडौँतर्फको रेलको गेज त साँघुरो छ। त्यसैले भारतको गेजबाट नेपालपट्टिको गेजमा ल्याउन फ्ल्याट कार पनि बदल्नुपर्ने भयो। पहिलेको फ्ल्याट कारबाट ती डुंगालाई झारियो। तर, साँघुरो फ्ल्याट कारमा डुंगा चढाउन क्रेन नै चाहिने भयो। तर, भएको एउटा मात्र क्रेन अमेरिकाको स्वामित्वमा छ। त्यो क्रेन अहिले भारतले बनाउँदै गरेको नेपालको सडकमा काम गरिरहेको छ। त्यसैले सम्भवतः डुंगा उठाउने काममा त्यसलाई खटाउन सकिँदैन। रुसीहरुले ती डुंगालाई सडकबाट ल्याउने हो भने अर्को समस्या छ। सडक यसरी घुमेको छ कि त्यसबाट ३० फुट लामो बाकस ल्याउन मुस्किल छ। यतिखेर यो काण्डलाई लिएर नेपालमा रहेका अमेरिकी प्रतिनिधिहरु हाँसिरहेका छन्। तर, त्यत्तिकैमा एक अधिकारीले सबैलाई सचेत गराए– यदि रुसी डुंगा काठमाडौँको तलाउमा उत्रिए भने जतिसुकै बेकामे भएपनि सम्भवतः नेपालीले देखेको पहिलो डुंगा तिनै हुनेछन्। ती डुंगाको चर्चा सहरभरी हुनेछ। अनि तपाईंको जित कसरी होला?

अमेरिकासँगको सम्बन्धको कुरा गर्दा अमेरिकाले दिएको गैरसैन्य र निसर्त सबै सहयोगलाई नेपालले स्वागत गरेको देखिन्छ। यतिखेर नेपालमा ठूलै यूएसओएम (प्राविधिक सहयोग) कार्यक्रम चलिरहेको छ। त्यस्तै अत्यन्तै लोकप्रिय ‘अमेरिकी पुस्तकालय’ पनि सञ्चालनमा छ। तिनलाई सामान्यतया यूएस इन्फरमेसन सर्भिस लाइब्रेरी भनिन्छ। तर काठमाडौँको यो पुस्तकालयलाई आपसी समझदारीअनुरुप बेग्लै नाम दिइएको छ। भारतका लागि अमेरिकी राजदूत एल्सवर्थ बंकरले नै नेपालको पनि जिम्मेवारी सम्हालेका छन्। उनी दोहोरो भूमिका निर्वाह गर्ने अमेरिकाको एक मात्र राजदूत हुन्। यदि अमेरिकाले नेपालमा पूर्णकालीन प्रतिनिधि राख्ने हो भने चीनले पनि त्यसै गर्नसक्छ भन्ने सोच अमेरिकामा देखिन्छ। वास्तवमा नेपाल एउटा त्यस्तो स्थान हो– जहाँ अमेरिकी र भारतीय विदेश नीति मेल खान पुग्छ। दुवै मुलुक नेपालले चीनसँगको सीमा बलियोगरी सम्हालोस् भन्ने चाहन्छन्। अमेरिका र भारतबीच यस्तो साझा स्वार्थ छ। त्यति हुँदाहुँदै पनि नेपालीहरु दुई देशलाई एकअर्काविरुद्ध भिडाउन माहिर छन्, ताकि दुवै मुलुकबाट सकेसम्म बढी फाइदा लिन सकियोस्।

तटस्थताको यो समस्याको पिछा गर्दै जाँदा केही दिनअघि मैले टंकप्रसाद आचार्यसँग कुराकानी गरेको थिएँ। राणाहरुलाई सत्ताच्युत गरेयता सबैभन्दा लामो समय ९१८ महिना० नेपालको प्रधानमन्त्री बनेर उनले कीर्तिमान कायम गरेका छन्। आफूलाई ‘पेसेवर राजनीतिकर्मी’ भन्न रुचाउने टंकप्रसाद ४७ वर्ष पुगेका छन्। त्यसमध्ये ३० वर्ष उनले नेपालको क्रान्तिकारी आन्दोलनमा बिताएका छन्। सन् १९४० मा राणाविरुद्धको विद्रोह असफल भएपछि उनी १० वर्ष जेल परेका थिए। यतिबेला पुनः उनको खराब समय चलिरहेको छ। आफ्नो सानो, राम्ररी स्याहार नपुगेको आँगनमा बसेर उनले आउँदो चुनावमा सम्भवतः आफू र आफ्नो पार्टी दुवैको हार हुने सजिलै स्वीकारे। चुनाव जितेर सरकार बनाउने र विपक्षी दुवै पार्टी भारतको नियन्त्रणमा रहनेमा उनी विश्वस्त छन्। तटस्थताको विषयमा फर्कौँ। वर्तमान राजाको राज्याभिषेकको ठूलो प्रचार गरेर बाहिरी विश्वसँग नेपालको ढोका खुला गर्ने व्यक्ति प्रधानमन्त्री टंकप्रसाद नै थिए। सो समारोह रेकर्ड गर्न लोवल थोमस (अमेरिकी अभिनेता, निर्माता तथा लेखक)लाई समेत निम्त्याइएको थियो।

‘जब म सुरुमा सत्तामा आएँ,’ टंकप्रसादले मलाई भने, ‘त्यसपछि मैले भनेँ– ‘अब नेपालको विदेशनीति बेलायतीहरुको हुकुममा चल्दैन। तिमी भारतीयहरुले पनि हुकुम नचलाए हुन्छ।’ त्यसपछि मैले चीनसँग एउटा सन्धि गरेँ। जसअनुसार नेपालले तिब्बतमाथि चीनको सार्वभौमसत्तालाई स्वीकार गर्‍यो भने चीनले नेपाललाई पूर्ण स्वतन्त्र र सार्वभौमसत्तासम्पन्न मुलुकको मान्यता दियो। अमेरिकाले नेपाललाई स्वतन्त्र देशको मान्यता दिइसकेको हुनाले मैले अमेरिकालाई आफ्नो सहयोग कार्यक्रममा पनि हाम्रो स्वतन्त्रतालाई मान्यता दिन आग्रह गरेँ। तर, तपाईंको यूएसओएम निर्देशकले ‘हुँदैन’ भने। त्यसपछि मैले रुस र चीनसँग छलफल सुरु गरेँ। अनि यूएसओएमका निर्देशक आएर मलाई भने, ‘मेरो प्रस्ताव चाहिँ राम्रो थियो नि।’ मैले उनलाई भनेँ, ‘म कम्युनिस्ट हुन्थेँ भने म रुसी र चिनियाँ सहयोग लिन्थेँ। तर, तपाईंको सहयोग चाहिँदैन भन्थेँ।’ मलाई लाग्छ– उनले कुरा बुझे। अन्ततः अमेरिकाले पनि सहयोग दियो। अहिले भारतबाट छुट्टै सहयोग कार्यक्रम सञ्चालनमा छ। तपाईंलाई थाहा छ, हामी भारतसँग राम्रो सम्बन्ध कायम गर्न चाहन्छौँ। तर, सानो भाइलाई गर्नेजस्तो उसको व्यवहारलाई हामी निरन्तरता दिन चाहन्नौँ।’

अमेरिकी समस्याप्रतिको बुझाइमा पनि पूर्वप्रधानमन्त्री टंकप्रसादले चलाखी देखाए। अमेरिकाले चीनको डरले नेपालका लागि अलग्गै राजदूत नराखेको कुरा पहिलो पटक मलाई उनैले सूचित गरेका थिए।

नेपालका विदेश सचिव नरप्रताप थापालाई पनि मैले भेटेँ। मैले भेटेमध्ये उनी मात्र त्यस्ता व्यक्ति थिए, जसले नेपाल छिमेकी चीनप्रति, खासगरी तिब्बतमा चीनको व्यवहारप्रति सशंकित छ भन्ने घोषणा गरे। ३२ वर्षे थापा सम्भवतः विश्वकै सबैभन्दा कान्छा विदेश सचिव हुन्। ‘म निकै कलिलै छु,’ उनले स्वीकार गरे, ‘तर, सन् १९५० अघि नेपालको कुनै विदेश सम्बन्ध नभएको कुरा पनि तपाईंले सम्झिनुपर्छ।’ थापा भर्खरै न्युयोर्कबाट फर्केका हुन्। संयुक्त राष्ट्रसंघको साधारण सभामा नेपाली विदेशमन्त्रीलाई सघाउन उनी त्यहाँ गएका थिए। उनलाई रुस र चीन भ्रमणका लागि पनि निम्त्याइएको थियो। उनले चतुरतापूर्वक ‘सहयोग गर्ने अमेरिकाको चाहनाबाट’ आफू ‘प्रभावित’ भएको बताए। नेपाल अमेरिकी सहयोग मनपराउँदैन र चाहँदैन भनेर गत वर्ष वाल स्ट्रिट जर्नलमा प्रकाशित रिपोर्ट असत्य भएको उनको भनाइ छ। ‘हामी सबै सहयोगलाई स्वागत गर्छौँ,’ थापाले भने। नेपालको विदेश नीति लागू गर्ने महत्वपूर्ण पात्रका अलावा थापा आफूलाई इतिहासकारका रुपमा पनि हेर्छन्। कुनै दिन बफर राज्यका रुपमा टिक्न सफल नेपालको दुई हजार वर्ष लामो इतिहासको अभिलेख राख्ने उनको सपना छ।

मलाई लाग्छ, तपाईं प्रत्येक व्यक्तिलाई मन पराउन सक्नुहुन्न। र, निश्चय नै नेपालका गृहमन्त्री डीआर रेग्मीलाई मैले मन पराइनँ। उनको उपहासपूर्ण मुस्कानले मेरो अन्तर्वार्ताको लय प्रकट गर्छ। उनले निकै कम टिप्पणी गरे। तैपनि उनी या त डकारको साथमा बोल्थे, या हाइ काढ्दै। रेग्मी नेपाली राष्ट्रिय कांग्रेसका प्रमुख हुन्। भारतमा बसेको क्रान्तिकारी समूहको एउटा नगण्य अवशेष हो यो पार्टी। सन् १९५४–५५ मा उनी विदेशमन्त्री थिए। उनी अमेरिकालाई सोभियत संघसँग बराबर ठान्छन् र भन्छन्– रुस भविष्यको लहर हो भने अमेरिका पुँजीवादका कारण असफल हुने निश्चित छ। गोर्खा परिषदलाई उनी ‘राणा पार्टी’ भन्छन्। र, त्यो पार्टी आउँदो चुनावमा शक्तिमा आए उसले अमेरिका र बेलायतको पक्षपोषण गर्ने उनको भनाइ छ। अमेरिकाले बेलायती चालचलन अपनाउने उनी बताउँछन्। ‘किनभने बेलायती साम्राज्यको ठाउँ अमेरिकाले लिनुपर्ने हुन्छ,’ रेग्मीले व्याख्या गरे। पुरानो नेपाली राष्ट्रिय कांग्रेसका सबैजसो नेताहरुबाट रेग्मी अलग भएका छन्। अहिले उनी एक्लै छन् भन्दा पनि हुन्छ। त्यसैले उनले आगामी चुनाव हार्ने अपेक्षा गरिएको छ। भनिन्छ, उनी आफूलाई मुलुकको सबैभन्दा ठूलो बौद्धिक ठान्छन्। नेपालमा उपलब्ध इतिहासका सबै पुस्तक रेग्मीले नै लेखेका छन्। बीस वर्ष नाघ्नेबित्तिकै उनी राजनीतिमा लागेका थिए। अहिले उनी पैँतालीस वर्ष पुगे। राणाहरुले उनलाई जेल हाले। जेलबाट छुटेपछि उनी भारततर्फ भागे। बनारसमा उनी अर्थशास्त्रको प्राध्यापक बने। १९५१ मा राणाहरु सत्ताच्युत भएपछि उनी नेपाल फर्किए। भारतसँग सम्बन्धको कुरा गर्दा रेग्मी टंकप्रसादभन्दा ठिक विपरीत छन्। ‘भारतसँग हाम्रो ऐतिहासिक र सांस्कृतिक सम्बन्ध छ। हामीबीच कुनै द्वन्द्व छैन। र, हामीलाई भारतमा विदेशी भनिँदैन। नेपालीहरुलाई भारतको फरेन रजिस्ट्रेसन एक्टअन्तर्गत दर्ता गरिएको छैन,’ रेग्मीले भने।

नेपालमै रहेका क दर्जाका राणाहरुमध्ये अन्तिम हुन् फिल्ड मार्शल केशर शमशेर जबरा। (पहिली पत्नी, सामान्यतयाः ब्राह्मण राजकुमारीबाट जन्मेका राणाहरु क दर्जामा पर्छन्। ख र ग चाहिँ त्यसभन्दा तल्लो दर्जाका र कहिलेकाहीँ सुसारेबाट जन्मिएका हुन्)। केशर (अंग्रेजी हिज्जे कैजरसँग मेल खान्छ) संस्कृत शब्द हो नकि जर्मन। उनी अहिले ६७ वर्ष पुगे। तर उनको एक छोरा भर्खर जन्मेका छन् (नयाँ पत्नीबाट, पहिलेको पत्नी अर्थात् राजाकी बहिनीबाट होइन)। राजदरबारनजिकै एउटा ठूलो सेतो दरबारमा उनी बस्छन्। उनको एउटा पुस्तकालय पनि छ, जसलाई केहीले यो उपमहाद्वीपकै उत्कृष्ट पुस्तकालय मान्छन्। केशरले पुस्तकालय सजावटमा आफ्ना राणा पुर्खाहरुको तस्बिर थोरै मात्र झुण्ड्याएका छन्। बरु पुस्तकालय प्रयोग गर्न आएका विद्वानहरुको तस्बिर उनले राखेका छन्। केशरले पुस्तक लगेर समयमा फिर्ता नल्याउनेहरुको नाम लेखेर राखेका छन्। एउटा सानो पुस्तक पढ्न एक साता, मध्यम आकारको पुस्तकका लागि दुई साता र ठूलो ठेली पढ्न तीन साता लाग्ने उनको ठम्याइ छ। उनले मलाई आफ्नो टिपोट देखाए र भारतीय राजदूतको नाम पढे, जसले पुस्तक फिर्ता ल्याउने समय छ हप्ता नघाइसकेका रहेछन्। यसका कारण भारत–नेपाल सम्बन्धमा दरार पैदा भएको सूचना केशरको अनुहारमा पढ्न सकिन्थ्यो।

कुनै नेपाली संस्थालाई आफ्नो पुस्तकालय जिम्मा लगाउने मनसाय केशरले बनाएका छन्। तर, त्यसको हेरचाह वा व्यवस्थापनका लागि कसैलाई तालिम दिएका छैनन्। ‘पुस्तकनजिक नोकरहरु मात्रै जान पाउँछन् र तिनले धुलो मात्रै पुस्छन्,’ उनले भने। त्यसो भनिरहँदा उनको आवाजमा ठूलो पछुतो सुनिन्थ्यो। क्रान्तिले पदच्यूत गरेको प्रधानमन्त्री केशरकै जेठा दाजु थिए। तैपनि केशर सबैका प्रियपात्र रहन सफल भए। आफ्नो समयमा केशर रक्षामन्त्री, विदेशमन्त्री, सेना प्रमुख थिए। क्रान्तिका समयमा राजा र प्रधानमन्त्रीबीचको प्रमुख वार्ताकार उनै थिए। क्रान्तिपछि राजाको सल्लाहकार परिषदका प्रमुख उनै थिए। राजाको अनुपस्थितिमा राजसंरक्षक समेत उनै थिए। अहिले अर्धसेवानिवृत्त भइसके पनि उनी अझै ठाँटिला देखिन्छन्। थुक्न मन लाग्दा खल्तीमा राखिएको सानो बाक्सा निकाल्ने उनको तरिका पनि रोचक रहेछ। गहनाको कुरा गर्दा फिल्ड मार्शलसँगको विदाइको घटनाले म अझै विचलित छु। म विदा मागेर प्रवेशद्वारतर्फ लम्किन थालेँ। त्यहाँ पुग्नै आँटेको बेला एक सन्देशवाहक चाँदीको सिगरेट केस र सुनको लाइटर लिएर दौडिँदै मेरो पछाडि आए। ‘धन्यवाद, तर म चुरोट पिउँदिनँ,’ मैले भनेँ। सन्देशवाहक निराश देखिए। म पनि अहिले निराश छु। के केशरले मलाई सिगरेट मात्र होइन, सिगरेट केस र लाइटर नै दिन खोजेका थिए?

पछिल्लो समय लेखिका हान सुयिनले आफ्नो उपन्यास ‘द माउन्टेन इज यङ’ मा चित्रित गरेको ‘फिल्ड मार्शल दार्शनिक’ केशर नै हुन्। गत वर्ष राजाको साथमा रुस भ्रमणमा जाँदा आफ्नी छोरीले सो पुस्तक दिएको केशरले बताए। ‘रातिराति बसेर पढ्दा मलाई पाँच दिन लाग्यो,’ उनले भने, ‘उनले मबारे के लेखेकी थिइन् पत्ता लगाउन यो किताब पढ्नैपर्ने थियो, त्यो पनि पेरिसमा बसेर।’

नेपाल, फिल्ड मार्सल केशर र हान सुयिनबारे चाँडै नै थप कुरा सुनिनेमा म ढुक्क छु। अस्ति काठमाडौँको विमानस्थलमा उत्रिँदै गर्दा चार जना मानिसहरु नयाँ टोप लगाएर त्यही विमानमा भारत जान अधीर भएर पर्खिरहेका थिए। ‘प्यारामाउन्ट स्टुडियो,’ मलाई कसैले भन्यो, ‘उनीहरु द माउन्टेन इज योङबारे सूचना संकलन गर्दैछन्। आउँदो हिउँदसम्ममा युल ब्रिनर र इन्ग्रिड बर्गम्यान यहाँ आइपुग्दैछन्।’

सादर
वारेन डब्लू अना

नेपाल खबर बाट साभार

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *