केपी ओलीलाई अध्यक्ष र प्रधानमन्‍त्रीबाट हटाउने योजना थियो : अध्यक्ष दाहाल

समाचार

काठमाडौं। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउनको लागि प्रयास भएको स्वीकारेका छन् ।ईमेज च्यानलसँग अन्तर्वार्ता दिँदै अध्यक्ष प्रचण्डले पार्टीको केन्द्रीय समितिको बैठकबाट केपीजीलाई सके दुवै पद, नभएपनि एक पदबाट हटाउने योजना रहेको स्वीकारेका हुन्। “यसै कार्यको लागि केन्द्रीय समितिको बैठक बेलाउन पहल गरेका थियौं। तर बैठक बोलाउन सहमति भएन। अविश्वासको प्रस्तावको विषयमा केपीजीलाई पनि जानकारी थियो,” उनले भने।

“पार्टीको अध्यक्ष हो। तर पनि पार्टी कमिटीमा उहाँको सबै ठाउँमा आलोचना भइरहेको थियो । उहाँले लोकतान्त्रिक भएर पद छाडेको भए राम्रो हुने थियो। अहिलेको ‘बबन्डर’ त हुँदैन थियो,” अध्यक्ष प्रचण्डले भने।राष्ट्रपतिलाई महाभियोग लगाउने भन्‍ने अरोप झुटो भएको प्रचण्डले दावी गरे । “यो गलत कुरा हो। वाइयात कुरा हो। मैले राष्ट्रपतिलाई महाभियोग लगाउने भनेको छैन भनेर भेटेरै भनेको हो। यस विषयमा कुनै बैठकमा छलफल नै भएको थिएन। चर्चापनि भएको छैन,” उनले भने।

१९ पेजको आरोप पत्र फिर्ता गर्न मानिन
“प्रधानमन्त्री केपी ओलीले पुस ४ गते १९ पेजको आरोपपत्र फिर्ता लिनु म प्रधानमन्‍त्रीबाट राजीनामा दिन्छु भनेकै हो। तर उहाँको कुरामा विश्वास गरिन। म लगायत बामदेव गौतम र माधव नेपाललाई पनि प्रधानमन्त्री बनाउने उहाँको प्रस्तावले विश्वास गर्न सकिन। त्यसैले अरोपपत्र फिर्ता लिइँन,” उनले भने।

विचरा सोझा बामदेव
अन्तर्वार्ताको क्रममा अध्यक्ष प्रचण्डले बामदेव गौतमलाई सोझो र विचरा नेताको संज्ञा दिएका छन्।

“केपीजीले बामदेवलाई धेरैपटक प्रधानमन्‍त्री बनाइदिन्छु भने तर कहिलै बनाएनन्। तर पनि बामदेवजी छिट्टै विश्वास गर्नुहुन्छ, उहाँ जालझेल बुझ्नु हुन्‍न। बामदेवजीलाई विचरा लागेको छ,” उनले भने।

“बामदेवसँग भावनात्मक सम्बन्ध छ। बामदेवलाई प्रधानमन्त्री बनाउने योजना र विचार छ। एकपटक बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने योजना छ,” उनले भने।

अध्यक्ष प्रचण्डले भने-“ केपी ओलीलाई आफ्नो कारण बहुमत आएको भ्रम छ। बाम गठबन्धन बनाउने प्रस्तावक म हुँ। मैले नै प्रस्ताव गरेको हो। उहाँ सकारात्मक हुनु हुन्थेन। तर मैले प्रधानमन्त्री प्रस्ताव गरेपछि बल्ल मान्‍नु भयो।”

तत्काल पार्टी मिल्दैन
अन्तर्वार्ताको क्रममा तत्काल पार्टी मिल्ने सम्भावना नरहेको अध्यक्ष प्रचण्डले बताए। “केपी ओलीसँग पार्टी मिल्ने तत्काल सम्भावना छैन। बामदेव विचरा मिलाउँछु भनेर लागेका छन्, तर सम्भव छैन। पार्टी मिल्ने ठाउँ छैन। दुई धार भइसक्यौ। मिलाउने प्रयास खेर जान्छ,” उनले भने।

फागुनपछि संयुक्त आन्दोलनको ‘अन्डरस्टान्डिङ’

“फागुनपछि नेकपा प्रचण्ड समूह, कांग्रेस र जसपा मिलेर संयुक्त आन्दोलनमा जाने सम्भावना छ। छलफल भइरहेको छ। कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल हुँदैछ र संयुक्त आन्दोलन गर्ने ‘अन्डरस्टेन्डिङ’ छ । एजेण्डा मिलेपछि सहमति हुन्छ,” उनले भने।

“कांग्रेससँगको चुनावी सहकार्य तोडेकोमा सभापति देउवाजीको मन दुखाइ छ। तर मैले मेरो बाध्यता भनेको छु। उहाँले बुझ्नु भएको छ भन्ने लाग्छ। कांग्रेसका भोटरले कम्युनिष्टलाई र कम्युनिष्टका भोटरले कांग्रेसलाई भोट हाल्न अप्ठयारो मानेको निष्कर्षपछि कांग्रेससँगको सहमति छोडेर एमालेसँग तालमेल गरेको हो,” उनले भने।

नेपालको राजनीति ‘ग्रिब’ बाहिर
“प्रधानमन्‍त्री केपी ओलीले देशभित्रका परम्परागत सामन्ती र बाह्य दक्षिणपन्थीको साथमा प्रतिनिधिसभा विघटनको कदम चालेका हुन्। हाम्रो लोकतन्‍त्र विदेशीको दलाल भयो। नेपाली राजनीति नेपालीको ‘ग्रिब’ बाहिर गयो । उपयोग भएको छ । जनता सडकमा नआए ग्रिबमा आउँदैन । देशमा संकट देखिएको छ। तर सबैको सहयोगले यो संकटमा पार गर्न सकिन्छ। ‘बेस्ट ब्रेन’ भएकाहरु हामीसँग र ‘कुबुद्धि’ भएकाहरू बाहिर छन्। त्यसैले राजनीतिलाई ग्रिबमा ल्याउन सकिन्छ भन्‍ने लागेको छ,” प्रचण्डले भने।

इमेज च्यानलसँग गरिएकाे अन्तर्वार्तामा आधारित

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *