माओवादी मन्त्रीहरू : ‘सल्लाह’ गर्दै भट्ट, ओलीलाई नै साथ दिने थापाले लिए यस्तो ‘निर्णय’

समाचार

e nepalisamchaar/काठमाडौँ — सर्वोच्च अदालतले नेकपा दलको नाम ऋषि कट्टेललाई दिँदै नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि माधवकुमार नेपालहरू एमालेतिर लागेका छन् भने पुष्पकमल दाहालले माओवादी केन्द्र बनाउने भएका छन् ।

सोमबार पेरिस डाँडास्थित माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा बैठक बसेर साविक नेकपाका दाहाल-नेपाल समूहले पूर्ववत् पार्टीतिर लाग्ने निर्णय लिएका थिए ।

एमाले र माओवादी ब्युँतिएपछि नेताहरू पूर्ववत् अवस्थामा फर्किए पनि माओवादीका सांसदसमेत रहेका ओली नेतृत्वको सरकारका मन्त्रीहरूले भने निर्णय लिन सकेका छैनन् । सांसद नरहेका मन्त्रीले भने आफू कता लाग्ने भन्ने तय गरेका छन् ।

माओवादी नेतासमेत रहेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अब कता लाग्ने भन्नेबारे छलफल गरिरहेको बताएका छन् । केही दिनभित्र आफूले निर्णय दिने उनले बताएका छन् ।

‘अहिले नै कता लाग्ने भन्ने केही पनि छैन । सल्लाह गर्दैछौं । के गर्ने भन्ने निर्णय गर्न २- ४ दिन लाग्ला,’ मन्त्री भट्टले भने । नेताहरूसँग छलफल भइरहेको तर निष्कर्ष निस्किनसकेको उनले जानकारी दिए ।

सर्वोच्चको फैसलाले अन्यौलता सिर्जना गरेको मन्त्री भट्टको भनाइ थियो । ‘फैसलाले अन्योलता त सिर्जना भयो । भोलि फेरि सरसल्लाह गर्दैछौं, एउटा निकास पनि देला,’ एमाले र माओवादीबीच सत्ता गठबन्धन कायमै रहनेबारे उनले थपे, ‘हुनसक्छ, अहिले नै केही भन्न सक्ने अवस्था छैन ।’

मन्त्री भट्ट कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट माओवादी केन्द्रबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । त्यस्तै, माओवादीबाट कैलाली क्षेत्र नम्बर ३ बाट निर्वाचित गौरीशंकर चौधरी, रौतहट ३ बाट निर्वाचित प्रभु शाह र अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर रायमाझी ओली सरकारमा मन्त्री रहेका छन् । प्रतिनिधिसभाको असंवैधानिक विघटनपछि तत्कालीन नेकपाभित्र उत्पन्न भएको विभाजनपछि सांसदहरू ओली पक्षमा लागेर शाह, रायमाझी र चौधरी मन्त्री भएका थिए भने भट्ट पहिल्यै मन्त्री थिए ।

माओवादीबाट राष्ट्रिय सभामा निर्वाचित गृहमन्त्री रामबहादुर थापाले पनि कुन पक्षमा लाग्ने तय नगरिसकेको बताइएको छ । प्रतिनिधिसभाको असंवैधानिक विघटनपछि उनका सहयोगी तथा सचिवालयमा रहेका नेताहरू दाहाल-नेपाल पक्षतिर लागेका थिए । थापाले अब के गर्ने भन्ने बारेमा सल्लाह गरिरहेको उनी निकट स्रोतले जानकारी दिएको छ ।

सांसदहरूले पार्टीको ह्वीप मान्नुपर्ने हुन्छ । ह्वीप नमानेमा उनीहरूको सांसद पद जाने कानुनी व्यवस्था रहेको छ । त्यसैले पनि सांसद रहेका मन्त्रीहरू आफ्नो पार्टीमा फर्किने सम्भावना रहेको छ । उनीहरू आफ्नो पार्टीमा फर्किएनन् भने सांसद पदबाट हटाउने सम्भावना रहन्छ ।

ओली नेतृत्वको सरकारमा माओवादी नेताहरू मणिचन्द्र थापा र दावा लामाले के गर्लान् भन्ने चासो रहेको छ । उनीहरू माओवादीतिर फर्किएलान् कि एमालेमै रहलान् भन्ने कुरा उठिरहेका बेला थापाले भने ओलीलाई नै साथ दिने बताएका छन् ।

थापा र लामा सांसद होइनन् ।

माओवादीबाट सांसद भएका मन्त्रीहरूले ओलीलाई साथ दिन गाह्रो भएपनि आफूहरूलाई नरहेको खानेपानीमन्त्री थापाले बताए । ‘सांसद भएकाहरूलाई मात्रै थोरै गाह्रो भयो भन्ने हो,’ उनले भने । राजनीतिक निर्णय लिन सबै स्वतन्त्र रहेको पनि उनको तर्क थियो ।

सर्वोच्च अदालतको फैसलापछिको निकासबारे मन्त्री थापाले भने, ‘अबको निकास मुख्यगरी माओवादी माओवादीतिर, एमाले एमालेतिर हुन्छ ।’

आफू भने प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीको पक्षमा लाग्ने थापाको भनाइ थियो । ‘हामीले ओली कमरेडलाई सहयोग गरेको हो, ओली कमरेडलाई सहयोग गर्छौं,’ उनले आफ्नो निर्णय सुनाए ।

अरुसँग समूहगत रूपमा छलफल नभएपनि सांसद रहेका मन्त्रीहरूले पनि ओलीलाई साथ दिने निर्णय लिने थापाको विश्वास थियो । उनले भने, ‘सांसद भएकाले पनि सहयोग गर्छन् । सांसद पद अर्को पटक पनि आउला नि !’

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *