प्रायः महिलाहरु सुनका गहना भनेपछि भुतुक्कै हुन्छन किन ? यस्तो छ खास कारण

समाचार

e nepaaalisamchaar / विशेषत: किन सुनको महत्व यति धेरै राख्छन् नेपाली नारीहरुले? के यो प्रवृत्तिको निरन्तरता हो वा बद्लिँदो परिवेशको आवश्यकता? वा ‘लाउन सक्नेले लाउँछन् त नलाउनेलाई केको टेन्सन?’ भन्दै गरिने फुर्तिलो रवाफीपन हो? पुँजीवादी चालचलन र देखावटी कृत्रिमता तर्फ ढल्किदै गरेको हाम्रो यस्तो मानसिकताले भने हुने खाने र हुँदा खाने वर्ग बीचको खाडललाई झन् गहिरो बनाउँदै लगेको तर्फ पनि ध्यानाकर्षण हुनु पर्ने जरुरी छ।

पवित्र बन्धन मानिने विवाहमा सुनको बहुत कारोबार हुने विषयबाट कुरा सुरु गरौं। जति नै हाम्रो पारिवारिक आम्दानीमा खिया लागेको होस् तर सुनले झकिझकाउ नपारी न हामी बुहारी भित्र्याउँछौं न छोरी बिदाइ गर्छौं।

सुनका सिक्री, औंठी, झुम्का, तिलहरी दुलहीलाई मात्र होइन, विवाहमा पुग्ने नातेदार, इष्टमित्र सबै नारीलाई आवश्यक पर्छ। आर्थिक स्थिति जति नै ओह्रालो लागोस् मतलब भएन तर ऋण काढेरै भए पनि विवाहको मण्डप वरिपरि रहँदा सबैलाई सुनले पहेलिएर फुल्ने फैलिने रहर हुन्छ।

bidh lab box ad 5
किन्न जति नै कोशिश गर्दा पनि नसेकेपछि छर-छिमेकीको गहना सापटी मागेरै भए पनि पहिरिएर जाने चलन नौलो होइन। त्यो पनि सम्भव नभएमा ‘हराएमा गम छैन, सक्कलीभन्दा कम छैन’ भन्दै नक्कली सुनका गहना नै भए पनि लाएर जानेहरुको जमात ठूलो छ।

आखिर सबैलाई देखाउन कै भोक रहन्छ। सबैको ध्यान खिच्न सक्ने गुरुत्वाकर्षणको शक्ति सुनकै पहेलो गहनामा निर्भर रहन्छ भन्ने भ्रम छ। खै! किन यति निर्जीव वस्तुले दुनियाँको मोहनी जगाउँछ? र नारीहरु सुनका गहना भनेपछि भुतुक्कै भएर नजिकिन्छन्!

‘विवाहमा कोसँग कस्तो नाता छ? शिष्टाचार कस्तो छ? बोली वचन र मुस्कान कस्तो छ? दुलाहा दुलहीको पढाइ कस्तो छ? सम्बन्ध कस्तो छ? खानेकुरा कस्तो छ?’ यी यावत कुराहरुमा बेपरवाही रहेर नारीहरु मात्र गहनालाई जोडेर एकअर्काको मौन प्रतिस्पर्धामा उत्रिन्छन्।

‘फलानोको श्रीमतीले यति तोला लाकी छे’ भन्दै श्रीमानसँग गुनासो नै गर्छन्। ‘त्यसको त घाँटी नै लत्रिसक्यो गह्रुंगो भएर, मेरो त जाबो आधी तोला’ भन्दै अँध्यारो मन पनि बनाउँछे। पार्टी प्यालेसहरु विवाह, व्रतबन्ध, पास्नी, तीज जस्ता कार्यक्रम गर्ने स्थलभन्दा पनि सुन प्रदर्शनी गर्ने स्थलका रुपमा परिचित हुँदैछन्।

जमानाको रंग बद्लिएको छ। विवाह आट्नु पूर्व जति नै भलाद्मीपन देखाउन खोजे पनि सुनकै कारणले हुने लाखौंको खर्च नियमन गर्नै गाह्रो पर्छ। दाइजोको नाममा हुने सम्पत्तिको खेलहरुले पनि सुनको महत्व उत्ति कै बढाएर लगेको छ।

दाइजोको सट्टा बरु शिक्षा, सीप र व्यक्तित्व विकासका वातावरणहरु सहजिकरण गरिदिँदा कति राम्रो हुँदो हो। चरित्रसँग सुनको भाउलाई जोडेर हेर्दा यसले दीर्घकालीन असर पर्न जान्छ।

समाजवादको वकालत गर्ने कम्युनिस्ट नेताहरु सेमत अचेल प्रगतिशील विवाह छोडेर यस्तै नियतीमा फसिसकेका छन्। समाज रुपान्तरणको भाषण दिँदै हिंड्ने तर दाइजोमा यति तोला सुन चाहिन्छ भनेर मोलतोल गर्ने परिपाटी सुहाउँदो पक्कै छैन।

महँगो भोज भतेर गरेर पार्टी प्यालेसको बिल जति भ्रष्टाचारको कालो धनले तिर्न माहिर खेलाडीहरु समेत नेपालमा नै जीवित छन्। समाज परिवर्तनका लागि आफै आँट पनि गर्नुपर्छ। चोक चोकमा र गाँउघरमा सर्वहारा वर्गको नारा बोकेर मात्र पनि पुग्दैन।

विवाह बाहेकै जमघट हुने चाडपर्व र रीतिरिवाजहरुमा समेत सुनको पखेंटा हालेरै सम्पन्नताको उडान भर्न तम्सिएका नारीहरुको उदाहरण समाजमा टन्नै छन्। तीजमा चेलीबेटी भेट हुँदा होस् वा नयाँ वर्षमा जमघट हुदाँ होस्, एकअर्काको धित मरुन्जेल कुरा काट्छन्।

फलानोको लोग्नेले त घरमा श्रीमती हुँदा हुँदै गर्लफ्रेन्ड बनाएको परिघटनादेखि लिएर विदेशबाट श्रीमानले पठाएको पैसामा सुनको सिक्री ढल्काउँदै अर्कैसँग सल्किएकी श्रीमतीको कथासम्म कानहरुमा घन्किन्छन्।

सुनै सुनले पहेलिएकी छिमेकीको श्रीमानले भन्सारमा भ्रष्टाचार गर्ने गरेको प्रमाण पनि चेलिबेटीको गफमा भेटिन्छ। तीजमा प्रयोग हुने गीतहरु पनि सुनकै वरिपरि झुम्मिन्छन्।

आफ्नो पहुँच पुगेकै भरमा र सुनको गहना लगाएकै भरमा हाँस्य, बोली हाउभाउ, लच्काइ र हिंडाइमा अरुभन्दा विशिष्ट छु भन्ने अहम युक्त मनोभावका साथ नारीहरु देखिन्छन्।

पोशाकले पनि केही हदसम्म यो कार्यमा सहयोग गर्दछ तर सौन्दर्यको पर्याय नै सुनको गहना हो भने जसरी फुर्ती लगाउनु नारीहरुका लागि अचेल फेसन बनेको छ।

यहाँ क्षमता, प्रतिभा, प्रस्तुति र अध्ययनको कुनै मतलब छैन त्यसैले त सुनको बोक्रे पनसँग अटुट नाता जोडिन्छ। सुनको विज्ञापन गर्न नै तम्सिएका जस्ता देखिने नारीको शारीरिक बनोटले पनि अर्थको अनर्थ लगाइदिन्छ।

सुनको प्रशंसा र मूल्य स्थापित गर्न बनाइएका उखानहरुले पनि दुनियाँको नजर लोभ्याइरहन्छ। ‘अकबरी सुनलाई कसी लाउन पर्दैन। लंकामा सुन छ कान मेरो बुच्चै। सुनमा सुगन्ध।’

दुःख सुख गरेरै भए पनि सुन लाउनै पर्ने कुरामा यस्ता उखानहरुले पनि जोड दिन्छन्। यो भन्दैमा अब गेरु वस्त्र धारण गरेर वैरागी रुप धारण गर्नु पर्छ भन्नु पनि मेरो आशय होइन। तर बेक्कार कोसैको नजरलाई भष्मलेपन गर्न मात्रै पनि सुनको झिलिमिलीमा रंगिनु खोज्नुले कदापि समाजलाई न्याय गर्दैन।

२४ क्यारेटको सुन लगाउन अचेल घरको कमाइले मात्र पुग्दैन, जताततैबाट जोडजाम गर्नुपर्छ। रेमिट्यान्सको पैसा सुनमा लगानी गर्नुको साट्टो बरु परिवारको र बालबच्चाको भविष्य, योग्यता र शिक्षा दिक्षामा गर्न सके कति फलदायी हुन्थ्यो होला।

जब समाज शिक्षित हुन्छ, देखावटी सुनको क्षणिक मोहबाट समेत बाहिर निस्किन सक्छ। सामाजिक दायित्व बहन गर्ने सबै प्राणीहरु स्वावलम्बी बन्न सक्छन्। यता तिर पो ध्यान दिने कि?

मलाई अचम्म लाग्छ! विकसित देशका नारीहरुको भन्दा हाम्रो देशमा किन यति धेरै सुन प्रति मोह? किन होला सम्पन्न जीवनशैली भएका पाश्चात्य नारीहरुलाई झकिझकाउ हुन मन नलागेको? के हाम्रा नारीहरु उनीहरु भन्दा कम छन् र?

कर्ममा दत्तचित्त भएर सफल जीवन यापनको बाटोबाट बहकिएर सुनको सौन्दर्यमा किन नेपाली नारीहरु फसेका होलान्? अपवाद बाहेक यो देखावटीको आलस्यतामा किन डुबेका होलान्? सबै प्रश्नहरु अब सोच्नु पर्ने विषय भएको छ।

नवयुगका सपनाहरु देख्नलाई घाँटीमा सुनकै गहना लाएर सुत्नु पर्दैन। न त राजनीतिक नेतृत्वमा पुग्न सुन कै तराजुमा तौलिएर योग्यता नाप्नु पर्छ। तर पनि अझै किन नेपाली नारीहरु आर्थिक, सामाजिक र राजनीतिक स्तरमा यो बेकारी सुन मोहको विरुद्ध उत्रिएर अघि बढ्न सकेका छैनन?

कहाँ गए खै समानताका कुराहरु? दाइजो प्रथा नै अन्त्य गर्छु भन्ने अठोटहरु? नारी त कुनै एउटा मूर्ति वा साधन होइन नि, जसलाई सुनको जलप लाएर बोल्न निषेध गरिएको छ। ए नारी! कति बस्छौ तिमी आवरणको दासत्व स्विकार गरेर? सुनको पिंजडाबाट मुक्त भएर रनबन डुल्ने आँट तिमीसँग छैन?

धेरैले भन्ने गरेको सुन्ने गर्छु ‘सुन लाउनु आधुनिक परिवेशको उपज हो। हिजोका शोषित पीडित भएका नारीहरुलाई सुनको गन्धै थाहा हुन दिइएन। आज आफ्नै खुट्टामा उभिएर आफ्नै कमाइले सजिएर हिंड्दा, तिम्लाई केको चासो र दुखेसो?’

यो तर्क केही हदसम्म सही भएपनि वास्तविकता अर्कै छ। जब नारीहरुको हैसियतको मापन केन्द्र नै सुनको गहना हुने भएपछि बौद्धिकताको प्रश्न कहाँ गएर ओझेल पर्छ भन्ने कुरा पनि ख्याल गरौं।

अधिकारका लागि आरक्षणको माग गर्ने तर आफै भने प्राज्ञिक मैदानबाट पलायन हुन खोज्नुले कदापि नारी मैत्री समाज निर्माण हुन सक्दैन। महिला राष्ट्रपतिले करोडौंको हेलिकप्टर चढ्दा र लाखौंको कार्पेट बिछ्याउँदा सरोकार राख्ने हरेक नेपाली नारीलाई लाखौंको गहना भिरेर हिड्न चाहिँ कत्तिको सुहाउँछ?

सौन्दर्यता एउटा नसा हो, प्रवृत्ति हो र देखासिकी हो। नेपाली नारीहरु विश्वविद्यालयको मासिक शुल्क तिर्न नसकेर घरमै फुर्सदिलो बस्छन् तर किनमेल गर्न जादाँ हजारौं रुपैयाँ सक्छन्।

घरमा नयाँ नयाँ किताब किनेर पढेर अनि सुरक्षित राखेर सानो पुस्तकालय नै बनाउँ कि भन्ने जागर नारीमा आउँदैन तर मेकअप र पहिरनका साथै नयाँ नयाँ गहनाको भण्डारण भने सहजै गर्न सक्छन्।

यसलाई हलुका रुपले स्विकार गर्दै जाने र भोलि हुर्किने बालबच्चाका लागि घर पाठशाला हुनुको साट्टो ‘कर्पोरेट हाउस’ र ‘फेसन स्टोर’ भयो भने, के सिक्छ त्यो काँचो दिमागले? यसतर्फ पनि समय मै होस पुर्याउनु पर्ने स्थिति छ।

नेपाली नारीहरु उन्नत भएर बाँच्न पाउनु उनीहरुको नैसर्गिक अधिकार हो। तर मपाई गाँसिएको सुनको सिक्री भिरेर र सँगसँगै समानताको उपदेश बिक्री गरेर समाज बद्लिदैन। नेपालमा जति नै सुनको भाउ बढे पनि किन्नेहरुको लाम नघटेको देख्दा सहरिया र शिक्षित भनिएकाहरु कै चेतना स्तरमा नै प्रश्न चिन्ह खडा हुन्छ।

हिजो जनयुद्धको मैदानमा ‘हुनुपर्छ चमेली सबैजना बराबर’ भन्दै नारा घन्काउनेहरु नै आज वर्गीय भिन्नता निमत्याउने कार्यक्रमहरुको साँची बसेर सुन कै लागि दलाल पुँजीवादका अघि घुँडा टेकेका घटनाहरुले मनमा चिसो पस्छ।

नीति निर्माणको अघिल्लो मोर्चामा बसेका महिला नेतृहरुले अब सुनप्रतिको ज्यादा आशक्तिलाई घटाउँदै आम समाजका लागि उदाहरणीय बनेर सौखभन्दा कर्मशील जीवन व्यतित गर्न प्रेरित गर्ने पर्छ।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *