ओलिको अर्को बिबादास्पद अभिब्यक्ति पानीढुंगोमाथि ओलीको यस्तो धावा !

समाचार

e nepalisamchaar /प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ८ मा विराटनगर पुगेर सप्तकोसीस्थित खुवालुङलाई ‘क्रेन लगाएर फुटाउने’ अभिव्यक्ति दिए । उनले भनेका थिए, ‘त्यहाँ बाधा भएको एउटा ढुंगो, त्यसलाई क्रेन लगाएर फुटाउँदै छौं र नदीको बाटो क्लियर गर्दै छौं स्टिमरका लागि ।’
यो अभिव्यक्तिविरुद्ध सुरुमा विज्ञप्ति, सामाजिक सञ्जाल र गोष्ठीमा सुनिएको–देखिएको किरातीहरूको विरोध अहिले संगठित मार्चपाससम्म पुगेको छ । प्रधानमन्त्री ओलीको अभिव्यक्ति नसच्चिए विरोधको आकार र आयाम अझ बढ्ने अवस्था देखिँदै छ । यो अभिव्यक्ति प्रधानमन्त्री ओलीमा नेपाली समाजको बहुसांस्कृतिक विशिष्टताप्रति पटक्कै संवेदनशीलता छैन भन्ने कुराको पछिल्लो ज्वलन्त साक्ष्य हो । एकातिर उनी पशुपतिमा सुनको जलहरी चढाउँछन्, उता किरातीहरूको आस्थाको केन्द्र खुवालुङचाहिँ भत्काउन आदेश दिन्छन् । उनमा यस प्रकारको असन्तुलन किन देखा पर्दै छ ?

ओलीलाई खुवालुङबारे थाहा छैन भनेर पनि हामी भन्न सक्दैनौं किनभने सार्वजनिक अभिव्यक्तिबाट अनुमान गर्न सकिन्छ– उनी ‘पर्याप्त’ सूचना भएका व्यक्ति हुन् । त्यसो हो भने के उनी नेपाली समाजको सांस्कृतिक सहअस्तित्वमा खलल पुर्‍याउन चाहिरहेका छन् ? नेपाली समाजको शताब्दीऔं लामो मिहिनेतद्वारा निर्माण भएको बहुसांस्कृतिक सहअस्तित्वलाई सत्ताधीशहरू मिहिनेतपूर्वक नै भत्काउन खोजिरहेका छन् भन्ने आशंका ओलीको अभिव्यक्ति र व्यवहारबाट पैदा भएको छ ।

पूर्वी तराईमा अरुण र तमोर मिसिएर सप्तकोसी बन्ने त्रिवेणी नजिक नदीको बीचमा विशाल ढुंगो छ, जसलाई किरातीहरू खुवालुङ भन्ने गर्छन् । नाङ्गा आँखाले हेर्दा त्यो फगत ढुंगो हो तर किरातीहरूको इतिहास र संस्कृतिका हिसाबले बिनाअक्षरको अभिलेख हो– खुवालुङ । त्यो खुवालुङ तोडफोड गर्दा किरातीहरूको आस्थामा गम्भीर आक्रमण त हुन्छ नै, अर्को कोणबाट हेर्दा इतिहासको कुनै कालखण्ड नै सप्तकोसीमा विलीन हुन पुग्छ ।

मुन्धुमी लोककथाअनुसार किरातीका पुर्खा खुवालुङ क्षेत्रबाट बाँडिएका हुन् । उहिले किराती पुर्खाहरूले पार गर्ने बेला खुवालुङ बन्द थियो । पहिलो समूहले खुवालुङ खुलाउन जुरेली चराको भोग दियो । चराको रगत परेपछि खुवालुङ खुल्यो र पहिलो समूहले नदी पार गर्‍यो । लगत्तै दोस्रो समूह आइपुग्यो र आफ्नै चेलीको औंला थोरै चोट पारेर खुवालुङलाई रगत पारिदियो । खुवालुङ खुल्यो । उनीहरू पनि कोसी तरेर पहाडतर्फ उक्लिए । यसरी किराती पुर्खाका थुप्रै हूलले खुवालुङ पार गरे । कतिपयले हर्कबुङहरू थिए भन्छन् । कतिपयले त्यसरी नदी पार गर्नेमा बुसुरी (भुसुरी), वाछप्पा र छोछाप्पाहरू थिए भन्छन् । कतिपयले रुङ्धितामहरू थिए भन्छन् । यसको अर्थ हो, थुप्रै समूहले पटकपटक खुवालुङ पार गरेको थियो ।

खुवालुङ पार गरेपछि भने किरातीहरू आआफ्नो बाटो लागे । एउटा समूहले तमोर पछ्यायो, उनीहरू अहिले लिम्बू भनेर चिनिन्छन् । अर्को समूहले अरुण पछ्यायो, उनीहरू याम्फू, लोहरूङ, मेवाहाङ राई भनेर चिनिन्छन् । अर्को समूहले दूधकोसी पछ्यायो, उनीहरू तिलुङ, चाम्लिङ, वाम्बुले, जेरोङ, बाहिङ/बायुङ, बान्तावा, साम्पाङ, दुमी, कोयी/कोयू, कुलुङ, खालिङ, नाछिरिङ, थुलुङ राई भनेर चिनिन्छन् । अर्को समूहचाहिँ सुनकोसी नै पछ्याएर गयो, उनीहरू अहिले कोँइच (सुनुवार), जिरेल, सुरेल, हायू, थामी भनेर चिनिन्छन् र एउटा समूह खुवालुङ नतरीकन तराईमै बस्यो, उनीहरू थारू, धिमाल, मेचे, कोचे हुन् भनिन्छ । यसरी मुन्धुमी मिथकले खुवालुङलाई किरातीहरूको साझा थलोका रूपमा व्याख्या गरेको छ । मुन्धुमअनुसार खुवालुङभन्दा मुनि दक्षिणतिरको भूभाग थारू, धिमाल, मेचे, कोचेहरूको हो, उत्तरतर्फको भूभाग किरातीहरूको । त्यसैले खुवालुङ एउटा सांस्कृतिक सिमाना पनि हो ।

यो मिथकबाट अनुमान गर्न सकिन्छ– खुवालुङ नेपालको पूर्वी पहाड उक्लिने प्रवेशद्वार हो । पौडिएर या लहरामा झुन्डिएर नदी पार गर्नुपर्ने त्यो युगमा खुवालुङबाट कोसी पार गर्ने क्रममा किरातीहरूले निकै कष्ट खेपेका हुन सक्छन् । सम्भवतः थुप्रैलाई कोसीले बगायो, जसकारण मुन्धुमी लोककथामा बन्द खुवालुङलाई रगत चढाएर पार गरिएको वर्णन गरिएको हुनुपर्छ । खुवालुङ किरातीहरूका लागि यिनै कारणले पवित्र थलो हो र ऐतिहासिक प्रतीक पनि ।

किरात नछुङ (धामी) हरूले थुप्रै थरी संस्कार गर्ने क्रममा खुवालुङको पुकार गर्छन् । किरात राईहरूमा चाहिँ दुई थरी नछुङ हुन्छन्– एक थरीले पानी–पानी हुँदै सांस्कृतिक यात्रा (रिचुअल जर्नी) गर्छन् अर्थात् खोलानदी र त्यससँग जोडिएका थातथलो उल्लेख गर्छन् । यस्तो धामीलाई खातवा इत्यादि भनिन्छ । अर्को थरीले डाँडाकाँडा हुँदै सांस्कृतिक यात्रा गर्छन् अर्थात् डाँडाकाँडाका विभिन्न थातथलोको नाम उल्लेख गर्छन् । यस्ता धामीलाई मोपा इत्यादि भनिन्छ । यसरी गरिने सांस्कृतिक यात्राको थालनी नियामा भन्ने आदिम थलोबाट सुरु भएर पैतिप्, जोजिला, खैबर, जम्मु, योँला, थारू–बाजी–साप्ते, वराहा–चतरा हुँदै खुवालुङ आइपुग्छ । अर्को भाषामा भन्दा किरातीहरूको आदिम बसाइँसराइको वर्णनका क्रममा उल्लेख हुने एउटा महत्त्वपूर्ण थलो हो– खुवालुङ ।

‘खुवा’ भनेको किरात राई भाषामा पानी हो भने ‘लुङ’ भनेको ढुंगा । त्यही भएकाले कोसीको बीचमा भएको ढुंगालाई खुवालुङ भनिएको हो । किरात राई बस्तीमा ‘खुवा’ जोडिएका यस्ता थुप्रै खोलानाला छन् । जस्तो कि संखुवासभाका साङ्खुवा, लाङ्खुवा, तिङ्खुवा, चिङ्खुवा । भोजपुरका इर्खुवा, चिर्खुवा, पिखुवा, आखुवा । खोटाङका बुइखुवा, दिखुवा, मखुवा ।

पूर्वी नेपालबाट पश्चिमतर्फ ओखलढुंगा जिल्ला र त्यसभन्दा अझ पश्चिम–दक्षिणतर्फ उदयपुर, रामेछाप, सिन्धुली जिल्ला पुगेपछि ‘खुवा’ शब्दको ‘वा’ हराएर पंखु, सोखु, मयंखु, लिखु हुन पुग्छ । त्यो क्रम काठमाडौं उपत्यकासम्म निरन्तर रहन्छ । काठमाडौंमा साँखु, तेङ्खु (टेकु), नखु, जप्तिखु, लम्खु हुन पुग्छ खोलानालाका नामहरू (कमलप्रकाश मल्ल, फ्रम लिटरेचर टु कल्चर, सन् २०१५, पृष्ठ २४८–२४९) । यसरी पूर्वी पहाडबाट काठमाडौं उपत्यका पुग्दा खोलानालाका नाममा ‘खुवा’ हराएर ‘खु’ मात्र बाँकी रहन्छ । यसरी हेर्दा काठमाडौं उपत्यका केन्द्र बनेपछि अझ समृद्ध हुन पुगेको नेपाली सभ्यताको जरो हो खुवालुङ । त्यो जरो उखेल्नु सिङ्गै नेपाली समाजमाथि नै घात हो ।

मुन्धुमका रिसिया (श्लोक) अनुसार खुवालुङलाई किरातीहरूले अहिले मात्रै होइन, प्राचीनकालदेखि श्रद्धा गर्ने गरेका हुन् । खुवालुङसम्बन्धी मुन्धुमका अनेकौं रिसिया छन्, जसमध्ये चामुसिंह राई (खोटाङ, नेर्पा) ले साकेला पूजा गर्दा वाचन गर्ने मुन्धुमलाई साक्ष्यका रूपमा प्रस्तुत गरिहेरौं ।

खुवालुङ ओ आसेलुङ ओ
कैबोलोनी हो मैनानेपा हो
आसेलोनी हो मैनानिए हो

(हे खुवालुङ, तिमीलाई हामीले उहिले–उहिलेदेखि श्रद्धा गर्दै आएको हो है ।)
चामुसिंह राईकै मुन्धुमको रिसियामा खुवालुङबारे यस्तो पनि भनिन्छ–
खुवालुङ ओ ल्हमालुङ ओ
छियातुप्खा हो यातुप्खा हो

(सानो नदी मिसिने ठाउँमा रहेको तिमी खुवालुङ हाम्रा लागि पूज्य छौ ।)

अहिले किरातीले मान्ने गरेको खुवालुङ पाँचवटा नदी (सुनकोसी, भोटेकोसी, तामाकोसी, लिखु र दूधकोसी) मिसिएर ठूलो नदी बनिसकेपछि साना नदी अरुण र तमोर मिसिने ठाउँ नजिक रहेको छ, जुन संकेत गर्दै मुन्धुममा भनिएको हो– साना नदी भेट हुने ठाउँमा पर्छ खुवालुङ ।

***  खुवालुङ क्षेत्रलाई मुन्धुमी मिथकहरूले जसरी स्मरण गरिरहेको छ, त्यत्तिकै इतिहासले पनि सम्झना गर्ने गरेको छ । किरात इतिहासका लागि विख्यात भारतीय विद्वान् जीपी सिंहका अनुसार सप्तकोसी किनारको बेल्काकोट किरातहरूको एउटा प्राचीन राजधानी हो । त्यहाँका शासक थिए भीम जो किरात (रिसर्चेज इन्टु द हिस्ट्री एन्ड सिभिलाइजेसन अफ् दि किरात्स्, सन् २००८, पृष्ठ ३८१–८२) । खुवालुङ यही बेल्काकोटले समेटेको क्षेत्रमा पर्छ ।

बेल्काकोटलाई अहिले बेलका भनेर चिनिन्छ । त्यस क्षेत्रमा अहिले पनि बेलकागढीको अवशेष बाँकी छ । आजभन्दा २०–२५ वर्षअघिसम्म पनि गढीको भग्नावशेष थियो, अहिले पनि त्यहाँ माटाका ससाना ढिस्का बाँकी छन् । गढी क्षेत्रमा पुलिकमाला, मट्टीमाला, वाछुइमाला, सिमाला, जिमाला र ताराको गुहु भन्ने ढुंगाका माला पाइन्थे (कौशल चेम्जोङ, उदयपुरको इतिहास, २०७७, पृष्ठ २७१) । अहिले पनि फाट्टफुट्ट पाइन्छन् भन्ने स्थानीयको भनाइ छ ।

यसबाट अनुमान गर्न सकिन्छ– खुवालुङ क्षेत्रमा किरातीहरूले लामो समय गुजारेका थिए । त्यही क्रममा उनीहरू पूर्वी पहाडी क्षेत्रमा पटकपटक कोसी तरेको हुनुपर्छ । सम्भवतः बेलका क्षेत्रमा राजनीतिक केन्द्र विकास गर्नुभन्दा पहिला पनि किरातीहरू खुवालुङ क्षेत्रबाट पूर्वी पहाडतर्फ उक्लिएका थिए । त्यो क्रम बेलका राज्यको अवसानको उत्तरार्द्धमा आइपुग्दासम्म पनि निरन्तर रहेको हुनुपर्छ । सम्भवतः बेलकाकोट राज्यको अवसानपछि नै पूर्वी पहाडहरूमा किरातीका सयौं स्थानीय राज्य विकास भएका थिए । यस्ता

गढीका अवशेष अहिले पनि अध्ययन गर्न सकिने गरी नै किरात क्षेत्रमा देख्न सकिन्छ । त्यही भएकाले मुन्धुमी मिथकमा खुवालुङ पार गर्ने ज्यादै प्राचीन पुर्खाहरूको नाम मात्रै उल्लेख हुँदैन, अलग अलग भाषिक पहिचान बनाइसकेपछिका किरात राईहरूका आआफ्ना पुर्खाको नाम पनि उल्लेख हुने गर्छ ।

यी सबै ऐतिहासिक–सांस्कृतिक मूल्यमान्यतालाई पुँजी मानेर खुवालुङबाट निकट भविष्यमै ‘ग्रेटर मुन्धुम ट्रेल’ सुरु हुँदै छ । पहिलो चरणमा भोजपुरको टेम्के (तेर्पाचुङ) देखि सोलुखुम्बु, खोटाङ, भोजपुर र संखुवासभा जिल्लाको मिलनबिन्दुका रूपमा रहेको हिमाली क्षेत्र साल्पा पोखरीसम्म मुन्धुम ट्रेलको ‘भर्जिन’ पदमार्ग निर्माण सुरु भएको छ । यो भनेको मुन्धुममा वर्णित थलो हुँदै गरिने मनोरम सांस्कृतिक पदयात्रा हो । यसको अझ विस्तार हो ‘ग्रेटर मुन्धुम ट्रेल’ ।

त्यसैले खुवालुङ प्रदेश १ को भव्य पर्यटकीय सम्भावनाको प्रारम्भबिन्दु पनि हो तर ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने खुवालुङजस्ता मौलिक जगचाहिँ मासेर प्रधानमन्त्री ओलीले कस्तोखालको समृद्धि र सुखको परिकल्पना गर्न खोजिरहेका छन् ? बेजोड प्रश्न खडा भएको छ ।
-चाम्लिङ अनुसन्धाता हुन् ।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *