बर्माकी यी चेलिको यो भाषणले खिच्यो संसारको ध्यान, सबैलाई गरिन यस्तो अपिल ! (भिडियो सहित)

समाचार

E nepaalisamchaae// बर्मेली सुन्दरीको भाषणले खिच्यो संसारको ध्यान, ‘हामीलाई हाम्रो नेता अनि साँच्चैको प्रजातन्त्र चाहियो’

सौन्दर्य प्रतियोगितामा भाग लिएका महिलाहरूको भाषण समाचारको हेडलाइन बिरलै बन्छन् । तर, गत साता यस्तै प्रतियोगितामा सहभागी एक युवतीको भाषणले तमाम राजनीतिक घटनालाई पछि पार्दै गनेमानेका अन्तर्राष्ट्रिय मिडियामा स्थान ओगट्याे ।

मिस ग्रान्ड म्यानमार ह्यान ले (Han Lay) ले देशमा सेनाको कथित अत्याचारविरुद्ध बाेलेका कुराले संसारकै ध्यान खिचेको हो ।

‘आज मेरो देश म्यानमारमा… कैयौं मानिस मारिइरहेका छन्’, थाइल्याण्डमा भएको मिस ग्रान्ड इन्टरनेसनल २०२० समारोहमा ह्यानले भनिन्, ‘कृपया म्यानमारलाई मद्दत गरिदिनोस्, हामीलाई अन्तर्राष्ट्रिय समुदायको सहयोग तत्कालै चाहिएको छ ।’

त्यो समारोहभन्दा करिब एक महिनाअघि २२ वर्षीया ह्यान म्यानमारको सबैभन्दा ठूलो शहर यङ्गोनको सडकमा ‘सैन्य कू’को विरोध गरिरहेकी थिइन् ।

दुई महिनाअघि सेनाले जननिर्वाचित नेत्री आङ सान सू चीसहित प्रजातन्त्रवादी नेता र अन्य सयौँ मानिसलाई गिरफ्तार गरी सत्ता हत्याएदेखि म्यानमार अशान्त छ ।

सैन्य कू को विरोधमा सडकमा उत्रेका दसौँ हजार प्रदर्शनकारीलाई तितरबितर पार्न सेनाले पानीको फोहराले हान्यो । विरोध नरोकिएपछि सेना र प्रहरीले प्रदर्शनकारीमाथि रबरको गोली चलाउन थाले ।

प्रदर्शन अझै चर्किँदै गएपछि असली गोली चलाउन थालियो । गत शनिबार म्यानमारका लागि सबैभन्दा खराब दिन थियो, जुन दिन सयभन्दा बढी प्रदर्शनकारी मारिए ।

पछिल्लो गतिविधि नियालिरहेको स्थानीय एक समूहले दुई महिनायता जारी प्रदर्शनमा ज्यान गुमाउनेको संख्या पाँच सयभन्दा बढी रहेको बताएको छ । सेभ द चिल्ड्रेनका अनुसार मारिएकामध्ये ४३ बालबालिका थिए ।

ह्यान ले यङ्गोन विश्वविद्यालयमा मनोविज्ञानकी छात्रा हुन् । उनले आफ्नो मातृभूमिबारे अन्तर्राष्ट्रिय स्तरमा कुरा गर्ने निधो गरेकी छन् । यसका लागि उनले सौन्दर्य प्रतियोगिताको मञ्च चुनिन् ।

‘म्यानमारमा पत्रकारहरूलाई हिरासतमा लिइएको छ…त्यसैले आफ्नो देशमा जे भइरहेको छ, त्यसको विरोधमा आवाज उठाउने निधो गरेँ’, बीबीसीसितको फोन संवादमा उनले भनिन् ।

दुई मिनेटको भाषणलाई लिएर देशको सेनाले आफूलाई निशाना बनाउनेमा उनलाई डर छ । त्यसैले तीन महिनासम्म आफू थाइल्याण्डमै बस्ने ह्यानले बताइन् ।

आफू खतराउन्मुख भएकोप्रति उनी थाइल्याण्ड आउनुअघि नै सचेत थिइन् । उनले सोचिसकेकी थिइन्, आफू केही समय देशबाहिरै रहनुपर्ने हुन सक्छ ।

‘मलाई आफूसहित परिवारको सुरक्षाबारे चिन्ता छ । मैले सेना र देशको वर्तमान स्थितिबारे थुप्रै कुरा बोलेकी छु । म्यानमारमा सेनाबारे कुरा गर्न सबैलाई आफ्नो सीमा थाहा छ’, उनले भनिन्, ‘मेरा साथीहरू मलाई म्यानमार नफर्किन भनिरहेका छन् ।’

ह्यानको चिन्ता विना कारणकाे भने होइन । गत साता सुरक्षा बलले सेलिब्रेटी, सामाजिक सञ्जालका प्रभावशाली व्यक्ति र दुई पत्रकारसहित १८ जनालाई गिरफ्तारीका लागि पक्राउ पूर्जी जारी गरेको थियो । जजसको विरुद्ध ‘अरेस्ट वारेन्ट’ जारी भएको थियो, सबैले सैन्य कूविरुद्ध लेखेका थिए ।

भाषणपछि सेना वा अरु कोही सरकारी अधिकारीले आफूलाई सम्पर्क भने नगरेको ह्यानले बताइन् । यद्यपि, सामाजिक सञ्जालमा उनलाई धम्कीपूर्ण कमेन्टचाहिँ आइरहेका छन् ।

सामाजिक सञ्जालमा मानिसहरू मलाई धम्की दिइरहेका छन् । म्यानमारको जेल म फर्किने दिन कुरिरहेको उनीहरू बताउँदैछन्’, उनले भनिन् ।

यस्ता धम्कीको पछाडि को छ, यसबारे उनी अनभिज्ञ छिन् । उनका अनुसार सामाजिक सञ्जालमा उनको भाषणकाे समर्थनमा पनि कमेन्ट आइरहेका छन् ।

आफूसँगै विरोध प्रदर्शनमा सहभागी केही विद्यार्थी अहिले जेलमा रहेका ह्यानले बताइन् । कार्यकर्ताहरूको समूह असिस्टेन्स एसोसिएसन फर पोलिटिक प्रिजनर (एएपीपी)का अनुसार सैन्य कुपछि कम्तिमा २ हजार ५ सय मानिस गिरफ्तार भएका छन् ।

ह्यानले आफ्ना एक साथीको मृत्यु भएको बताइन् । ‘ऊ त विरोध प्रदर्शनमा सहभागी पनि थिएन । कफी पिउन एक रेस्टुरेन्टमा गएको थियो, तर उसलाई गोली हानेर मारिदिए’, उनले भनिन् ।

हालसम्म उनको परिवार सुरक्षित नै छ । तर, अहिले म्यानमारमा इन्टरनेट राम्रो नभएकाले परिवारजनसँग सम्पर्क गर्न गाह्रो परिरहेको उनले बताइन् । उनले बीबीसीसँग आग्रह गरिन्, ‘मेरो परिवारको सुरक्षाका लागि म बस्ने शहरको नाम नछापिदिनु होला ।’

सौन्दर्य प्रतियोगितामा भाग लिएकाहरू अक्सर राजनीतिक टिकाटिप्पणीसँग बच्छन् । तर, ह्यानले यो सार्वजनिक मञ्चबाट राजनीतिक बयान मात्र दिएकी छैनन्, म्यानमारको सेनाको चर्को आलोचनासमेत गरेकी छन् ।

साथै उनले ‘विन द रिभोलुसन’ (क्रान्ति जित्न) प्रतियोगिताको आधिकारिक च्यानलमा फ्यान्ससँग अन्तर्वार्ताका लागि आग्रह पनि गरेकी छन् ।

प्रतियोगिताभन्दा पहिला मिस ग्रान्ड कम्बोडिया लीव चिलीले आफ्ना समर्थकसँग भनेकी थिइन्, ‘तपाईंहरू राजनीतिबाट टाढै रहनुहोला ।’

तर, ह्यान देशको हालतबारे आवाज उठाउनुलाई आफ्नो कर्तव्य ठान्छिन् । उनी आङ सान सू चीलाई आफ्नो सबैभन्दा ठूलो प्रेरणा मान्छिन् ।

गत साता म्यानमारको सेनाले सू चीमाथि देशको आधिकारिक गाेप्य ऐनको उल्लंघन गरेको आरोप लगाएको थियो । यो आरोप पुष्टि भए कम्तिमा १४ वर्षको सजाय सुनाइन सक्छ ।

ह्यानले पहिला ग्र्याजुएसनको पढाइ पूरा गरेपछि फ्लाइट अन्टेडेन्ट काे तालिम गर्ने योजना बनाएकी थिइन् । तर, अब उनी कुन बाटाे अँगाल्ने अन्याेलमा छिन् ।

कतिपय मानिसले उनलाई सक्रिय राजनीतिमा आउन भनिरहेका छन् । तर, उनी राजनीतिमा आफूले केही गर्न सकुँला भन्नेमा विश्वस्त छैनन् ।

अहिलेका लागि आफ्नो देशको हालतबारे आवाज उठाइरहने प्रण उनले गरेकी छन् । ‘यो मानवताविरुद्धको अपराध हो ।

त्यसैले हामी चाहन्छौँ, यो मामिलामा संयुक्त राष्ट्र संघले हस्तक्षेप गरोस्’, उनले भनिन्, ‘हामीलाई हाम्रो नेता फिर्ता चाहियो, अनि हामी वास्तविक प्रजातन्त्र चाहन्छौँ ।’ (बीबीसीका जर्ज राइटकाे रिपाेर्ट)

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *