मन्त्रिपरिषद्को निर्णय :देश भरको कुन–कुन शहरमा विद्यालय बन्द ? यी सेवा पनि बन्द गर्ने निर्णय (पूरा हेर्नुहोस् )

समाचार

e nepalisamchaar // काठमाडौं, बैशाख ६
कोरोना भाइरसको बढ्दो सङ्क्रमणबीच सरकारले केही ‘प्रतिबन्धात्मक’ कदमहरू चाल्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन नगर्ने बरु केही गतिविधिमा प्रतिबन्धात्मक कदमहरु चाल्ने निर्णय गरेको हो ।

सरकारले सबैभन्दा जोखिम रहेका १४ जिल्लाका शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । बैशाख महिनाभर अनलाईन र वैकल्पिक शिक्षण पद्दतिबाट शैक्षिक गतिविधि अगाडि बढाउने निर्णय गरेको छ । जिल्लास्थित डिसीसीएमसीको सिफारिस बमोजिम विद्यालयहरु बन्द हुनेछ । तर बैकल्पिक माध्यमबाट पठनपाठन र परीक्षा भने सन्चालन हुनेछन् ।

मन्त्रिपरिषद्को बैठकले ‘लकडाउनको अवस्थामा पुग्नु नपर्नेगरी’ कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामबारे निर्णयहरू गरेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले जानकारी दिनुभयो ।

‘जनताको जीवन जोगाउनका लागि सकेसम्म फेरि लकडाउनमा जान नपरोस् भनेर स्वास्थ्य मन्त्रालयले कोभिड सङ्कट व्यवस्थापन केन्द्रमा लगेका प्रस्तावहरू केही परिमार्जनसहित पारित भएको छ’, उहाले भन्नुभयो । त्यसबारे विस्तृत विवरण सरकारले औपचारिक रूपमा सार्वजनिक गर्नेछ ।

त्यस्तै रात्रिकालीन व्यवसाय, सिनेमा हल, डान्सबार, क्लव, दोहोरी साँझ, सभा जुलुस, दर्शकसहितको रंगशालामा हुने खेलकुद, जिमखाना, पार्टी प्यालेस, स्वीमिङ पुल, हाटबजारहरु जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न कठिन हुने भएकाले २०७८ वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । र‌गंशालाको हकमा दर्शकरहित खेल गतिविधि सन्चालन गर्न पाइनेछ । यसो हुँदा नेपालमा जारी त्रीदेशीय ट्वान्टी–२० क्रिकेट सिरिज दर्शकबिना सन्चालन हुनेछ ।

विद्यालय बन्द हुने क्षेत्रहरु
काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, भरतपुर, काँकडभिट्टा, बिर्तामोड, दमक, बिराटनगर, इटहरी, धरान, बीरगंज, जनकपुर, राजविराज, हेटौंडा, भैरहवा, पोखरा, बुटवल, घोराही, तुलसीपुुर, नेपालगंज, धनगढी, भीमदत्त नगरजस्ता सहर र सदरमुकाममा भौतिकरुपमा उपस्थित नभई शैक्षिक गतिविधि २०७८ बैशाख मसान्तसम्म भर्चुअलरुपमा संचालन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *