सरकारमा सामेल भए (महन्त – राजेन्द्र ) समुहलाई हदैसम्मको कारबाही गर्ने जसपाको निर्णय

राजनीति समाचार

e nepaalisamchaar// काठमाडौं,१० जेठ । जनता समाजवादी दलको केन्द्रीय कार्यकारिणी समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको प्रतिनिधिसभा विघटनको सिफारिसलाई अलोकतान्त्रिक,गैरसंवैधानिक, अनैतिक तथा प्रतिगमनकारी ठहर गरेको छ ।

हिजो काठमाडौंमा बसेको बैठकपछि आज जारी प्रेस विज्ञप्तिमा जसपाले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान रक्षकको रुपमा तटस्थ,निष्पक्ष र संवैधानिक भूमिका खेल्नुपर्नेमा संविधानको भक्षक बन्दै गैर संवैधानिक,अलोकतान्त्रिक, अमर्यादित र पक्षपातपूर्ण स्वीकृति दिएको ठहरसहित असन्तुष्टि जनाएको छ ।

उसले लेखेको छ ‘संविधानको धारा ७६ को उपधारा ४ बमोजिम विश्वासको मत लिनुपर्ने संवैधानिक दायित्वबाट च्यूत भइसकेका प्रधानमन्त्रीले धारा ७६ उपधारा ५ बमोजिमको सरकार गठन गर्ने १ सय ४९ जना सांसदको हस्ताक्षरसहितको रीत बमोजिमको दाबीलाई भाँजो हाल्ने र राष्ट्रपतिले त्यसै प्रायोजित भाँजोपत्रलाई सिरानी हाली अवाञ्छित निर्णयलाई अनुमोदन गर्ने कार्यलाई’ जसपाले स्वीकार गर्दैन ।

उसले लोकतन्त्र,संविधानवाद र सर्वोच्च अदालतको फागुन ११ गतेको फैसला विपरित रहेको उक्त कदमको सशक्त प्रतिवाद गर्न सबै राजनीतिक दल,नागरिक समाज र आमजनसमुदायलाई आह्वान गरेको छ ।

त्यसैगरी जसपाले पार्टीको नीति, सिद्धान्त,विचार,एजेण्डा, विधान र कार्यदिशा विपरित कार्य गर्दै गराउँदै हिँडेको भन्दै नेताहरु महन्थ ठाकुर,राजेन्द्र महतो,लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पस्टिकरण सोध्ने र प्रतिगामी सरकारमा मन्त्री बन्न जाने जो कसैलाई साधारण सदस्यबाट हटाउने निर्णयसमेत गरेको छ ।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *