डिएसपीले पसल भित्रै छिरेर बुट र लाठी हानेको भिडियो भाइरल

समाचार

e nepaalisamchaar// काठमाडौँ, १२ जेठ । पर्सामा सर्जिकल पसलभित्रै पसेर प्रहरी डिएसपीले कर्मचारीलाई कुटेका छन् । बुधबार बिहान १० बजेर २१ मिनेटमा वीरगन्ज उपमहानगरपालिका–८ स्थित पानीट्याङ्की ब्यारेक पछाडि रहेको प्याथो सर्जिकल हाउसमा पसेर डिएसपी प्रह्लाद कार्कीले सर्जिकल पसलका कर्मचारीलाई कुटेका हुन् । उनले करण पटेलले सञ्चालन गरेको सर्जिकल पसलमा काम गर्ने अन्दाजी २१ वर्षीय अफ्रोज अहमदमाथि कुटपिट गरेका हुन् । त्यो पसल करण पटेलको हो ।

‘डिएसपी सा’बको टोली आएको थियो । बिहान छेउको पसलहरू खुलेका थिए । बन्द गराउने बेलामा डिसकस भइरहेको थियो । केहीले भिडिओ खिचिरहेका थिए । त्यहीबेला पसलमा छिरेर प्रहरीले लाती, बुट र लाठीले हिर्काउनुभयो,’ पटेलले भने । कुटपिटबाट अहमदको हात खुट्टामा निलडाम बसेको उनले बताए । प्रहरीले भिडिओ खिचेको भन्दै मोबाइल फोनसमेत लगेको उनले बताए । अहिले सो पसलको सिसिटिभी फुटेज सार्वजनिक भएको छ ।

‘भाइ भर्खरै एक महिनामात्रै भएको थियो काम गर्न बसेको । म पनि स्वास्थ्यकर्मी हो । त्यहाँ आज म थिइनँ,’ पटेलले भने, ‘खासै ठूलो समस्या भएको थियो भन्ने लागेन । भिडिओ बनायो कि बनाएनन् थाहा छैन । बनाएकै भए पनि सानो बच्चा जस्तो छ तर नराम्रो तरिकाले कुट्नु त भएन नि ।’

कक्षा १२ सकाएका अहमदले पहिले पनि अस्पतालको काउन्टरमा काम गरेको हुँदा पसलमा राखेको पटेल बताउँछन् ।
‘भाइसँग मेडिकलको ज्ञान भएको हुँदा राखेको थिएँ तर के गर्नु आज तनाव भयो,’ पटेलले भने । उता पर्सा प्रहरी प्रमुख प्रहरी एसपी बेलबहादुर पाण्डेले कुटपिट भएको स्वीकारेका छन् । उनले सो घटना गलत भएको भन्दै त्यसमाथि आवश्यक कारबाही हुने बताएका छन् ।

‘निषेधाज्ञाको उल्लंघन गर्ने बढ्यो भनेर हामीले प्रहरी व्यापक परिचालन गरेका थियौं । नियन्त्रणमा लिन पर्यो भनेका थियौं । त्यसैक्रममा आज केही व्यक्तिले भिडिओ खिचेका रहेछन्,’ एसपी पाण्डेले भने, ‘डिएसपी साबले भित्र गएर हातपात गर्न पर्दैन थियो । यसो सम्झाएर भिडिओ डिलिट गरेर सम्झाएको भए हुन्थ्यो ।’

प्रहरीमाथि पनि आक्रमण हुने क्रम बढेको हुँदा पर्सा प्रहरी अलि तनावमा पनि भएको उनले बताए । ‘हामीमाथि नै अट्याक हुन थालेपछि हैरान छौं । फेरि आज यस्तो भयो । काम गलत भयो म करेक्सन गर्छु,’ उनले भने, ‘कुटपिट गर्न जरुरी थिएन ।’ प्रहरीले ती युवकलाई भोलि नै कार्यालयमा बोलाएर छलफल गर्ने र मोबाइल पनि फिर्ता गर्ने पाण्डेले बताएका छन् ।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *