यस्तो थियो राजा वीरेन्द्रले सुत्ने कोठा: जुन अझै पनि सुरक्षित छ

समाचार समाज

e nepalisamchaar // काठमाडौँ l युवराज वीरेन्द्र त्यतिबेला बेलायतमा पढ्थे। उनका बाबुले त्यो बेला यहाँका एक फ्रान्सेलीलाई चिन्दा रहेछन्। एरिग्वाँ नामका ती व्यक्ति महङ्गा सारी बेच्ने काम गर्दा रहेछन्। नेपालको राजपरिवारका सदस्यहरूले पनि उनैको पसलबाट सारी किन्दा रहेछन्।

एरिग्वाँले नेपालका राजा र राणा परिवारलाई पेरिसमा स्वागत गर्ने, होटल मिलाइदिने, खानपिन र भ्रमणको चाँजोपाँजो मिलाउने सबै काम गर्दा रहेछन्। उनलाई राजा त्रिभुवनले नेपालको करेस्पोन्डेन्ट (प्रतिनिधि) छानेका थिए। उनले महेन्द्रको पालामा पनि करेस्पोन्डेन्टको काम गरे।

सन् १९६६ मा फ्रान्सको राजकीय भ्रमणका क्रममा राजा महेन्द्र र रानी रत्न । सबैभन्दा दायाँ युवराज वीरेन्द्र
त्यतिबेला पेरिसको पर्यटन विकास कार्यालयका निर्देशक रहेका मेरा श्रीमानलाई एरिग्वाँले ‘नेपालीहरू असल छन। उनीहरूमाथि कुनै शंका गर्नुपर्दैन’ भनेर आश्वस्त पारेछन्। त्यसपछि पर्यटन मन्त्रालयको पहिलो सल्लाहकारमा नियुक्त भएका मेरा श्रीमानले राजा महेन्द्रलाई नेपालको  संस्कृतिभन्दा बढी हिमालले पर्यटकलाई आकर्षित गर्ने सल्लाह दिएछन्।

त्यतिबेला एयर फँस्ले रियफेल भन्ने एकजनालाई हवाई पर्यटनको लागि नेपाल पठाएको थियो। उनी नेपालमै बसे र अन्ततः नेपालमै विते।उनी फ्रान्सेली राष्ट्रपति चार्ल्स द गोलका साथी थिए। गोलसँग राजा महेन्द्रको पनि सम्बन्ध थियो। महेन्द्रले राष्ट्रपति गोलसित ‘लौ न हाम्रो देशमा पनि पर्यटनको विकास गर्नुपर्‍यो’ भनेर नेपालको पर्यटन विकासको सम्भाव्यता अध्ययन गरिदिन आग्रह समेत गरेका रहेछन्। गोलले एरिग्वाँलाई अह्राएछन्। मेरा श्रीमान जर्ज ल ब्रेक पनि एरिग्वाँका साथी थिए।

एकपटक राजा महेन्द्रलाई छोरा वीरेन्द्रले फ्रान्सको ग्रामीण भेगका कृषकहरूको जीवनयापन र कृषिको तरिका देखोस् र सो सम्बन्धी तालिम गरोस् भन्ने लागेछ। उनले त्यस्तो उपयुक्त ठाउँ कतै पाए हुन्थ्यो भनेपछि एरिग्वाँले तुरून्तै मेरा श्रीमानसँग सम्पर्क गरे। मेरा श्रीमानले फोन गरेर आफन्तलाई सोध्नका लागि १५ मिनेट समय मागेछन्।

त्यतिबेला मेरा एक देवर पनि कृषि विषयमा अमेरिकामा पढेर फर्किएकाले अंग्रेजी राम्ररी बोल्थे। ससुराको पनि कृषि फार्म थियो। देवरको कृषि फार्म नोरमदी क्षेत्रको पेर्से भन्ने ठाउँमा थियो। यसरी वीरेन्द्रलाई देवरको कृषि फार्ममा राख्ने निधो भयो। ‘उनी नेपालका युवराज हन्’ भन्ने कुरा चाहिँ गोप्य नै राखिएको थियो।

हामीहरूमध्ये मुख्य केही मान्छेबाहेक फार्मका अरूलाई त्यो कुरा थाहा थिएन। मोंश भनिने अञ्चलअन्तर्गत प्रिफेक्चर पुलिसका हाकिमले आपतकालीन बत्ती बालेर पाँ-पुं-पाँ-पुँ’ हर्न बजाउँदै वीरेन्द्रलाई लिएर आए। पुलिसले वीरेन्द्रलाई छोडेर फर्कियो। उनले यहाँको कृषि तरिकाबारे चाख दिएर अनुभव सँगाले।

एकदिन युवराजको खोजी गर्दै पुलिसको गाडी फेरि आयो। बत्तिँदै आएको गाडी देवरको घरमा आएर रोकियो। गाडीबाट ओर्लेर पुलिसले सोध्यो,– “युवराज यहाँ छन् कि कहाँ छन्?” देवरको घरको ढोका खोल्ने मानिसलाई आफ्नो घरमा बस्ने मानिस युवराज हुन् भन्ने थाहा थिएन। पुलिसले युवराज कहाँ छन् भनेर सोध्दा त उनी अक्क न बक्क परे। ढोका खोल्नेले ‘यहाँ कोही युवराज छैन, तर ल ब्रेकसँग एउटा नयाँ मानिसचाहिँ बसेको छ, त्यसलाई हेर्ने भए भित्र आउनुस्’ भन्ने जवाफ दियो। अनि पुलिसभित्र छिर्‍यो।

युवराज वीरेन्द्र फार्ममा काम गर्ने अर्कै मानिससँग कुखुरा भुत्ल्याइरहेका थिए। पुलिस भित्र पसेर वीरेन्द्रलाई ‘तपाईं युवराज हो?’ भनेर सोध्दा त वीरेन्द्रसँग कुखुरा भुत्लाउने मानिस ‘आबुई! मैले युवराजसँग पो कुखुरा भुत्ल्याइरहेको रहेछु’ भन्दै चिच्यायो।

युवराज वीरेन्द्र त्यतिबेला फार्ममा काम गर्ने अर्कै मानिससँग कुखुरा भुत्ल्याइरहेका थिए। पुलिस भित्र पसेर वीरेन्द्रलाई ‘तपाईं युवराज हो?’ भनेर सोध्दा त वीरेन्द्रसँग कुखुरा भुत्लाउने मानिस ‘आबुई! मैले युवराजसँग पो कुखुरा भुत्ल्याइरहेको रहेछु’ भन्दै चिच्यायो। त्यसपछि सबैले मुखामुख गरे।

त्यो बेला वीरेन्द्र करिब एक महीना हामीसँग बसे। साधारण र फरासिला स्वभावका उनी दैनिक जीवनका सबैजसो कुराहरूबारे छलफल गर्थे। उनी मेरो श्रीमानलाई आफ्नो देशमा धेरै कुरा गर्न बाँकी रहेको बताउँथे। एक महीना देवरको फार्ममा बस्दा उनी निकै खुशी भएका थिए। समुद्रको किनारामा रहेर किनाराभन्दा माथि ढल्केको जमीनयुक्त फार्म खुशी पार्ने खालकै ठाउँ थियो। पहिले हामी सबैको बसोबासै त्यहिँ थियो।

वीरेन्द्र मेरा देउरानीहरूसँग पनि झ्याम्मिएका थिए। एकदिन उनले मेरी नन्दलाई भनेछन्,– “मलाई मध्यरातमा समुद्रमा नुहाउन मन लागेको छ।” यसरी नुहाउने प्रचलनलाई यहाँ बाँ द मि नुई (मध्यरातको स्नान) भनिन्छ। युवराजको प्रस्ताव सुनेर नन्दचाहिँ चिन्तित भइछन् र डरले कामिछन्। तैपनि युवराजको इच्छा पूरा गराइदिन उनले मध्यराति क्यालभादोस भन्ने समुद्रमा लगिदिइन्। नोरमदी क्षेत्रमा मध्यरातमा स्नान गर्न समुद्रमा जाने चलन अझै पनि छ। यहाँको त्यो संस्कृतिअनुसार बेलुका ८ बज्दा नबज्दै खाना खाइन्छ र मध्यराति समुद्रमा नुहाइन्छ।

अर्कोपटक वीरेन्द्र फेरि पेरिस घुम्न आएका थिए। त्यतिबेला पनि उनलाई एरिग्वाँले स्वागत गरे। यो उनी नोरमदीमा कृषि अध्ययन गर्नुपूर्वको भ्रमण हो। त्यतिबेला चाहिँ उनलाई मेरा श्रीमानले बाहिरै भेटेका थिए। अर्कोपटक आउँदा चाहिँ उनी मों सँ मिसेल स्थित हाम्रै घरमा बसे र खाना खाए। फ्रान्सेली भान्सामा काम नगरे पनि बनाएको चाहिँ खूबै चाख दिएर हेरे। उनले नोरमदीको खाना मन पराए। गोरूको मासु उनले कहिल्यै खाएनन्। मेरा श्रीमानले पहिले नै उनले खाने र नखाने कुराहरूबारे सम्झाएका थिए।

त्यसैले हाम्रो भान्सामा कुखुरा पाक्यो। राजा वीरेन्द्रसँगको सम्बन्ध सधैंभरी राम्रो रह्यो। मेरा श्रीमानले नेपालको पर्यटन विकास कसरी गर्ने, कुन–कुन ठाउँमा होटल र सडकहरू चाहिन्छ भनेर नेपाल सरकारलाई सुझाव दिएको र अध्ययन गरेकाले पनि होला हाम्रो सम्बन्ध उनीसँग सधैं ताजा रह्यो। मेरै श्रीमानको सुझावअनुसार नगरकोटमा नगरकोट फार्म हाउस, चितवनमा टाइगर टप्स, पोखरामा फिस्टेल लज, बर्दियामा टाइगर टप्स, कर्णाली लगायतका होटेलहरू बनेका हुन्।

खान नजान्ने प्रधानमन्त्रीको टोली

एकपटक नेपालका प्रधानमन्त्रीलाई खाना खुवाउँदाको रोचक प्रसँग सम्झनामा छ। वर्ष त बिर्सिएँ, मलाई लाग्छ, ती कीर्तिनिधि बिष्ट थिए। उनी पेरिस भ्रमणमा आएका थिए। उनका साथमा अरू नेपाली पनि थिए। घरमा घरेलू कामदार राख्ने चलन थिएन। त्यसैले मैले नै यही घरमा भात र कुखुराको परिकारसहितको खाना बनाएँ।

मैले हामीले खाने तरिका अनुसार नै काँटा–चम्चा र चक्कु वरिपरी राखिदिएँ। खाना पस्किदिएर शुरू गरौं भनेँ तर उनीहरूले त एक–अर्कासँग मुखामुख गरिरहे। मैले के देखेँ भने उनलाई काँटा–चम्चाले खान गाह्रो भइरहेको थियो। चक्कुले कुखुरा काट्न पनि जानेनन्।

भन्न त मेरो श्रीमानले नेपालीहरूले हातले खान्छन् भनेका थिए, तर प्रधानमन्त्रीहरू जस्ता व्यक्तिले त काँटा–चम्चा चलाउलान् भन्ने ठानेकी थिएँ। मैले ‘लौ त्यसो भए हातैले खाऊँ’ भनेर काँटा–चम्चा झिकिदिएँ। त्यसपछि त उनीहरू दङदास भए। मार चाहिँ मलाई पर्‍यो किनकि हातले खाने मेरो बानी थिएन। मैले तीन औंलाले अलिअलि गर्दै बल्ल-तल्ल खाएँ।

पछि नेपालका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सहित तीन नेपालीलाई खाना खान निम्ता गरेकी पनि थिएँ। हाम्रो घरमा नेपालीहरू आई नै रहन्थे। वीरेन्द्रले भने त्यस्तो काँटासाँटा चलाउन सबै जानेका थिए। नम्र स्वभावका उनी मानिसहरूसँग घुलमिल हुन पनि रूचाउँथे।

रानी उपहार- नक्कली हिरा

वीरेन्द्रको राज्याभिषेकमा हामीलाई पनि निम्ता गरे। त्यो मेरो पहिलो नेपाल भ्रमण थियो। त्यतिबेला हामी फ्रान्सेली दूतावासको व्यवस्थापनमा काठमाडौंमा बस्यौं। आठ दिनसम्म मनाइएको त्यो मनमोहक राज्याभिषेक समारोहको अवधिमा खूबै रमाइलो भयो। सजिएका हात्तीहरू, मानिसको लावालस्कर र उच्चकोटीको समारोह। कार्यक्रम आफैमा अनुपम थियो।

काठमाडौंको एउटा होटलमा राखिएका हामीलाई हरेक दिन समारोहमा लैजान दरबारकै गाडी आउँथ्यो। त्यतिबेला दरबारका रानी, मैयाँहरू गहनाले झकिझकाउ थिए। अहो! गहना पनि कति धेरै। त्यहाँ त महँगा-महँगा गहना उपहार दिइने रहेछ। म त यात्रामा जाँदा महँगा सामान बोक्ने गर्दिनथेँ। त्यसैले उपहार दिनका लागि महँगा सामान पनि थिएनन्। मैले ठ्याक्कै हिराजस्तो देखिने नक्कली गहना लगेकी थिएँ। रानीलाई त्यही गहना उपहार दिएँ। मेरो गहना एकदम राम्रो देखिएकाले रानीले त्यो नक्कली थियो भनेर चिनिनन् पनि होला।

मेरा लागि आश्चर्यको विषय भनेकै राजाको शुभ-राज्याभिषेकमा महिलाहरूले प्रयोग गरेको गहना हो। रानी र मैयाँ साहेबहरूले हिरा र पन्नाको गहना लगाएका थिए। सबैजसो महिलाहरूले गहना प्रदर्शन गरिरहेका थिए। फ्रान्समा चाडबाड आयो भन्दैमा हामीहरू यसरी गहना प्रदर्शन गर्दैनौं। देश गरीब भए पनि महिलाहरूले यति बिघ्न गहना कसरी किनेका? हुन त उनीहरू राणा र रजौटाहरू भएकाले पनि होला, तर समारोहमा आएका अरू विदेशी निम्तालु महिला गहनाले ढपक्कै ढाकिएका थिए।

हुन पनि राजा वीरेन्द्र हाम्रा लागि कति दयालु थिए भने नयाँ वर्ष र राष्ट्रिय पर्वहरूमा उनले नबिर्सिकन शुभकामना कार्डहरू पठाउँथे। छोरीको विवाहमा समेत हामीलाई ‘आउन सकिनँ, माफ गर्नुहोला’ भन्दै शुभकामना पठाए।
वीरेन्द्रको सुत्ने कोठा अझै सुरक्षित

दरबार हत्याकाण्ड भएको खबर मैले निकै पछि थाहा पाएँ। थाहा पाएपछि हामीले साथीहरूलाई वास्तविकता के हो भनेर सोध्यौँ। हामीलाई के विश्वास छ भने वीरेन्द्र परिवारको हत्या उनको छोराबाट भएको थिएन, त्यो उनको भतिजाबाट भएको थियो।

एकपटक उनकी दिदी हुन् कि बहिनी, पेरिस घुम्न आउँदा मो शँ मिशेल गएकी थिइन्। उनी पेरिस आएपछि नेपाली दूतावासले फोन गरेर मलाई मो शँ मिशेल गइदिनुपर्‍यो भन्यो।

बिहान १० बजे हामी पेरिसबाट हिँड्यौं। जाडोको त्यो दिन उज्यालो र घाम लागेको थिएन। उनी शँ मिशेलबाट पेरिसनजिकै पर्ने समुद्र पनि गइन्। मलाई चाहिँ घुम्न वाक्क लागेको थियो। दिउँसोको खाना खाएर पेरिस फर्किदा म थकाइले चूर भइसकेकी थिएँ। मैले त डाइभरलाई पनि भनिदिएकी थिएँ- “हेर, म तिमीहरूको यात्राबाट खुशी छैन किनभने वीरेन्द्रको हत्याले हामीलाई सधैं स्तब्ध पारेको छ।”

हुन पनि राजा वीरेन्द्र हाम्रा लागि कति दयालु थिए भने नयाँ वर्ष र राष्ट्रिय पर्वहरूमा उनले नबिर्सिकन शुभकामना कार्डहरू पठाउँथे। छोरीको विवाहमा समेत हामीलाई ‘आउन सकिनँ, माफ गर्नुहोला’ भन्दै शुभकामना पठाए। हामीलाई नेपालका केही पर्वहरूमा नबिर्सिकन निमन्त्रणा गर्थे। विद्यार्थी छँदा ‘हामीले नेपालमा धेरै गर्नु छ’ भन्थे। हाम्रा लागि उनी प्रिय थिए।

त्यसैले मैले मो शँ मिशेलस्थित घरमा अझै पनि वीरेन्द्रको सुत्ने कोठा उस्तै अवस्थामा राखिदिएकी छु। भूइँमा रातो गलैंचा छ। उनैले प्रयोग गरेका तख्ता छन्। उनी बसेका कुर्सीहरू कोठामा उस्तै अवस्थामा छन्। उनी आएर परिवारजस्तै भएर बसेकाले म त्यसलाई आफू बाँचुन्जेल बचाउँछु। उनले ओछ्याएको ओछ्यान पनि मैले जस्ताको तस्तै राखिदिएकी छु।

अँ अर्को एकपटकको घटना पनि म सम्झन्छु। एकपटक राजा महेन्द्र कुनै कार्यक्रममा जाँदै थिए। उनीसँगै युवराज वीरेन्द्र थिए। सडकका दायाँ–बायाँ ठूलो संख्यामा नरनारीहरू राजाको जय–जयकार गरिरहेका थिए। केही चाहिँ राजाको हातमा फूल दिन र कोही निहुरेर नमस्कार गर्न पंक्तिमा बसेका थिए।

मेरा श्रीमान् जर्जले पनि अरूले जस्तै निहुरी परेर नमस्कार गरे। बाबुको पछाडि हिँडिरहेका युवराज वीरेन्द्र चाहिँ जर्जले निहुरी परेर नमस्कार गरेको देखेर मरी–मरी हाँसे। मेरा श्रीमानलाई वीरेन्द्रले ‘जर्ज’ भनेर बोलाउँथे भने जर्जले चाहिँ उनलाई ‘वीरेन्द्र’ भनेर बोलाउँथे। पछि वीरेन्द्रकै आग्रहमा जर्ज नोरमदी र पेरिस दुवै ठाउँका लागि नेपालका महावाणिज्यदूत पनि भए।

पर्यटन विकासको अध्ययन

सन् १९५८ डिसेम्बरमा राजा महेन्द्रको आग्रहमा मेरा श्रीमान् पर्यटन विकासको लागि अध्ययन गर्न जाँदासम्म पनि हामी दुवैले नेपालको नाम राम्ररी सुनेका थिएनौं। त्यसो त, फ्रान्समा भएको अन्वेषकहरूको संस्था क्लब देजेक्स्प्लोरातका केही सदस्यहरूसित पनि हाम्रो सम्बन्ध थियो। त्यसमा आबद्ध केही साथीहरूले भर्खरै नेपालको हिमाल चढेर फर्केका थिए। उनीहरूले पनि हामीलाई नेपालबारे केही कुरा बताएका थिए।

त्यसको आधारमा हामीले नेपाल यस्तै हाला भनेर अनुमान त गरेका थियौं, तर त्यो पर्याप्त थिएन। त्यो बेला नेपाल कस्तो छ भनेर थाहा पाउन व्यवस्थित नक्सा पनि पाइँदैनथ्यो। कठिन नै भए पनि हामीले पुरानो नेपाल हेर्न र चिन्न पायौँ र त्यहीबेलाको नेपालका काठका मूर्ति, ढुंगा र माटो, झल्लर र कलाहरूदेखि नेपालका विविध सामग्री सम्झनाको कोसेलीका रूपमा मेरो घरमा सजिएका छन्।

कामको सिलसिलामा मेरा श्रीमान् १८ पटक नेपाल गए पनि म चारपटक मात्रै पुगेँ। मलाई त पहिलोपटक नेपाल घुम्दा पनि आश्चर्य लागेन। किनभने आश्चर्य लाग्ने कुराहरू जति श्रीमानले पहिल्यै सुनाइसकेका थिए।

पहिलोपटक नेपाल जाँदा नै श्रीमान् त खुशीसाथ गए, तर चिन्तामा चाहिँ म परे। हामा दुईवटा बच्चा थिए। महीनौंसम्म उनको चिट्ठी पनि आउँदैन्थ्यो। फोन, फ्याक्स त छदै थिएन। कहिलेकाहीं त कुनै खबर नपाएर म विचलित नै हुन्थेँ। उनी नेपाल जाँदा भिसाको चलन नै थिएन। पासपोर्टमा ‘फलानालाई यति-यति समय, यहाँदेखि यहाँसम्म हिँडडुल गर्ने अनुमति दिनू’ भनेर लेखिएको हुन्थ्यो।

कामको सिलसिलामा मेरा श्रीमान् १८ पटक नेपाल गए पनि म चारपटक मात्रै पुगेँ। मलाई त पहिलोपटक नेपाल घुम्दा पनि आश्चर्य लागेन। किनभने आश्चर्य लाग्ने कुराहरू जति श्रीमानले पहिल्यै सुनाइसकेका थिए। मैले नेपाल जानुपूर्व नै त्यहाँका परम्परा, संस्कृति र धर्मका बारेमा अध्ययन गरेकी थिएँ। नेपालीको बानी व्यहोरामा आफुलाई ढाल्ने कोसिस पनि गरेकी थिएँ।

शुरू-शुरूमा नेपाल जाँदा श्रीमान् एकैपटक सात महिनासम्म हराउँथे। म चाहिँ केटाकेटी कुरेर बस्थे। त्यतिबेला नेपालमा हुलाकको भर्खर व्यवस्था भएको थियो। नेपालको हुलाक टिकट भर्खरै चल्तीमा आएकाले टिकट संकलकहरूका लागि एकदमै आकर्षणको विषय हुन्थ्यो। अनि नेपालबाट पठाउने चिठी भारत हुँदै जाने आउने भएकाले टिकट संकलकहरूले टिकट झिकेर चिठी फालिदिने रहेछन्। अनि कहाँबाट आओस् चिट्ठी!

सायद बाटैमा हराउँने भएकाले होला उनले पनि मलाई चिठ्ठी नै लेख्दैनथे। नेपालमा साना खाले विमान उड्छन् भन्ने सुन्दा त झन् डर लाग्थ्यो। त्यतिबेला एउटा सानो विमान बागमती नदीमा दुर्घटनाग्रस्त भएका थियो। त्यसपछि त मलाई झन् डर लाग्यो। त्यति गरेर पनि उनले नेपालको पर्यटन विकासको लागि अध्ययन गरिछाडे। मेरा श्रीमानले तयार पारेका रिपोर्ट नेपालमा अहिले पनि सुरक्षित होलान् भन्ने लाग्छ।

नेपाल सम्झँदै अलबिदा
राजा वीरेन्द्रसँग जर्ज ल ब्रेक।
कामको उचित मूल्यांकन गरेर नै होला, राजा भएपछि श्रीमानलाई त्रिशक्तिपट्ट पदक दिए। त्यस्तै शुभ–राज्याभिषेकमा नेपालमै निम्ता गरेर एउटा डेकोरेसन पनि दिए। हुन त हामीले ज्ञानेन्द्रलाई पनि राजा नहुँदै चिनेका थियौं। वीरेन्द्र कहिलेकाहिँ कामले दरबारबाट बाहिर भएका हामीलाई लिन उनै आउँथे। वीरेन्द्रको हत्यापछि भने हामीलाई नै ज्ञानेन्द्रसँग निकट हुन मन लागेन।

सन् १९७८ र २००० मा जाँदाको नेपाललाई मैले तुलना गरेँ- काठमाडौं घरैघरले ढाकिएछ। मानिसहरू नहाँस्ने भएछन्। पहिला–पहिला जो कोहीलाई पनि स्वागत-सत्कार गर्ने, मुसुक्क मस्कुराउने हँसिला नेपालीहरू पछिल्लोपटक जाँदा त आफै मुख बटार्ने र ढाड फर्काउने भएछन्।

सन् १९९० को अप्रील महीनामा हो। जर्जको मृत्यु हुने बेला उनका वरिपरी दशजना साथीहरू थिए। उनी नेपालको रमाइलो यात्राबारे गफ गर्दै थिए। म भान्सामा काम गर्दै थिए। साथीहरू उनको गफ सुनेर मरिमरि हाँस्दै थिए। हाँस्दा–हाँस्दै उनको टाउको एक्कासी लत्रियो। बोल्नै छाडे। उनी त बितिसकेछन्। उनका लागि त मरण सजिलो भयो, तर परिवार र साथीहरूका लागि भने यो पत्याउनै नसकिने घटना बनेर रहिरह्यो।

म अन्तिमपटक सन् २००० मा नेपाल पुगेकी थिएँ। नोरमदी टेलिभिजनले मलाई त्यहाँ लगेको थियो। उसले एउटा रिपोर्ट तयार पारेको थियो, जसमा मो शँ मिशेललाई नेपालसँग जोड्ने प्रयास गरिएको थियो। सन् १९७८ र २००० मा जाँदाको नेपाललाई मैले तुलना गरेँ- काठमाडौं घरैघरले ढाकिएछ। मानिसहरू नहाँस्ने भएछन्। पहिला–पहिला जो कोहीलाई पनि स्वागत-सत्कार गर्ने, मुसुक्क मस्कुराउने हँसिला नेपालीहरू पछिल्लोपटक जाँदा त आफै मुख बटार्ने र ढाड फर्काउने भएछन्।

मैले एकताका नोरमदीको मेयरको सल्लाहकार भएर पनि काम गरेँ। दोस्रो विश्वयुद्ध सकिएपछि फ्रान्सका महिलाहरूले पनि भोट हाल्ने र चुनावमा उठ्ने मौका पाए। म पनि त्यही अवसरलाई उपयोग गर्दै सल्लाहकारमा उठेँ र जितेँ।

श्रीमान् पेरिसमा बस्ने र बालबच्चा पनि भएकाले मलाई त्यो पद सुविधाजनक भएन र छोडेँ। तर, सन् २००० मा यहाँको मो शँ मिशेल र काठमाडौंको बौद्धनाथले मीत लगाएका छन्। त्यो म नेपाल गएका बेलामा हो। बौद्धनाथ र शँ मिशेलका बीच आवश्यक आपसी सहयोग आदानप्रदान गर्न त्यसो गरिएको हो।

(अन्तर्वार्ता मिति : फेब्रुअरी १४ र मार्च १८, २००७। कुराकानीकाे १० वर्षपछि ल ब्रेकको सन् २०१७ मा निधन भयो।) ददि सापकोटालिखित पुस्तक ‘त्यो नेपाल (फ्रान्सेली अनुभव)’ बाट साभार । पुस्तकमा यो लेखको शीर्षक ‘राजा वीरेन्द्रसँग पारिवारिक उठबस’  रहेको छ । साभार Himalkhabar बाट

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *